क्वालालम्पुर (मलेसिया):= मलेसियाको अध्यागमन विभाग (इमिग्रेशन) ले सन् २०२५ को जनवरी १ देखि मे १५ सम्म देशभर सञ्चालन गरेको ४,७८५ वटा विशेष अपरेशनमार्फत १६,६८१ विदेशी नागरिकलाई विभिन्न अध्यागमन सम्बन्धी कसुरमा पक्राउ गरेको जनाएको छ।
अध्यागमन विभागका महानिर्देशक दातुक श्री जकारिया शाबानका अनुसार यस अवधिमा ६९,४०६ जनाको जाँच गरिएको थियो। उनले अध्यागमन कानुन उल्लंघन गर्नेहरूमाथि कुनै सम्झौता नगर्ने स्पष्ट पारे।
हाल २०,५७५ जना विदेशी नागरिक स्थायी अध्यागमन डिपोमा तथा १,४७० जना अस्थायी डिपोमा राखिएको जनाइएको छ। उनीहरूलाई आवश्यक कागजी प्रक्रिया पूरा गरी कानुनी कारबाही अघि बढाइने बताइएको छ।
मे १४ सम्म १९,७०० जनालाई आफ्नै देश फर्काइएको छ।
सबैभन्दा धेरै फिर्ता पठाइएका नागरिकहरूमा इन्डोनेसिया (७,९३६), म्यानमार (४,००५), बंगलादेश (२,४५३), फिलिपिन्स (१,८२५) र थाइल्याण्ड (१,००८) रहेका छन्।
यसैबीच “प्रोग्राम रेपाट्रियासी माइग्रान २.० (PRM 2.0)” कार्यक्रमअन्तर्गत स्वेच्छिक रूपमा स्वदेश फर्किने अवैध आप्रवासीहरूको संख्या पनि उल्लेखनीय रहेको विभागले जनाएको छ।
कार्यक्रमअन्तर्गत ११२ देशका २,५७,४४३ जनाले दर्ता गराएका छन् भने करिब १२८ मिलियन रिङ्गेटभन्दा बढी जरिवाना रकम संकलन भएको छ। जकारियाका अनुसार यो कार्यक्रमले मलेसियामा रहेका अवैध आप्रवासीको संख्या घटाउन महत्वपूर्ण भूमिका खेलेको छ।
उता, अध्यागमन विभागको उत्कृष्ट सेवा पुरस्कार (APC) २०२५ अन्तर्गत देशभरका १,२१२ कर्मचारी तथा अधिकारीलाई उत्कृष्ट कार्यसम्पादनका लागि सम्मान गरिएको छ। News Source : Bernama




















