बालेन सरकारको पालामा विदेश जानेको संख्या उच्च, वैशाखमै ७४ हजार विदेशिए।

काठमाडौं := वैदेशिक रोजगार विभागको पछिल्लो तथ्यांकअनुसार २०८३ साल वैशाख महिनामा मात्रै ७४ हजार ४ सय २९ नेपालीले श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि विदेश गएका छन्।

यस अवधिमा विदेशिनेहरूमध्ये ६५ हजार १० पुरुष र ९ हजार ४ सय १९ महिला रहेका छन्। विभागका अनुसार ४१ हजार ३ सय २४ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने ३३ हजार १ सय ५ जनाले पुनः श्रम स्वीकृति लिएका हुन्।

यसअघि चैत महिनामा ६१ हजार ८ सय १९ नेपाली वैदेशिक रोजगारीमा गएका थिए। चैतको तुलनामा वैशाखमा १२ हजार ६ सय १० जना बढी विदेशिएको तथ्यांकले देखाएको छ।
त्यसैगरी चालु आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्म कुल ६ लाख ६१ हजार ७ सय ६१ नेपाली वैदेशिक रोजगारीमा गइसकेका छन्।

तीमध्ये ५ लाख ८२ हजार ९ सय ३९ पुरुष र ७८ हजार ८ सय २२ महिला रहेका छन्। रोजगारी, आयआर्जन तथा पारिवारिक आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले नेपाली युवाको विदेश जाने क्रम अझै उच्च रहेको देखिएको छ।