भिसा-मुक्त free visa नीतिका कारण अन्तर्राष्ट्रिय स्क्यामर,ठगहरूको केन्द्र बन्दै मलेसिया: प्रहरी प्रमुख खालिद।

क्वालालम्पुर (मलेसिया):= मलेसियाका प्रहरी प्रमुख (IGP) दातुक सेरी मोहद खालिद इस्माइलले भिसा-मुक्त (Visa-Free) नीतिका कारण अन्तर्राष्ट्रिय ठगी गर्ने समूहहरू मलेसियातर्फ आकर्षित भइरहेको बताएका छन्।

उनका अनुसार केही विदेशी अपराधीहरूले पर्यटक वा व्यापारिक उद्देश्य देखाएर मलेसियामा प्रवेश गर्ने र यहाँ बसेर अनलाइन स्क्याम, वित्तीय ठगी तथा साइबर अपराधका नेटवर्क सञ्चालन गर्ने गरेका छन्। प्रहरीले यस्ता गतिविधि पछिल्लो समय तीव्र रूपमा बढ्दै गएको जनाएको छ।

मलेसियाली प्रहरीले हालै सञ्चालन गरेको विशेष अप्रेशनका क्रममा अन्तर्राष्ट्रिय अनलाइन स्क्याम तथा वित्तीय ठगीमा संलग्न रहेको आरोपमा १८७ जना स्थानीय तथा विदेशी नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सबैभन्दा धेरै १२९ जना चिनियाँ नागरिक रहेका छन् भने २३ जना मलेसियाली नागरिक पनि समावेश छन्। बाँकी अन्य बाङ्लादेशलगायत विभिन्न देशका नागरिक रहेको प्रहरी स्रोतले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूले नक्कली लगानी योजना, अनलाइन प्रेम जाल (Love Scam), बैंकिङ ठगी, डिजिटल कारोबार तथा सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई ठग्ने काम गर्दै आएका थिए। उनीहरूले मलेसियालाई सञ्चालन केन्द्र बनाएर विभिन्न देशका मानिसलाई लक्षित गरी ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ।

प्रहरी प्रमुख खालिद इस्माइलले विदेशी नागरिकको प्रवेश प्रक्रियामा अझ कडाइ गरिने जानकारी दिएका छन्। उनले अध्यागमन विभागसँग समन्वय गरेर विमानस्थल, सीमा नाका तथा पर्यटक प्रवेश बिन्दुहरूमा निगरानी बढाइएको बताए।
मलेसिया प्रहरीले अब शंकास्पद गतिविधिमा संलग्न विदेशी नागरिकमाथि विशेष निगरानी राख्ने तथा साइबर अपराध नियन्त्रणका लागि थप अप्रेशन सञ्चालन गर्ने जनाएको छ।एजेन्सी