नेपाली श्रमिकको तलब,आवास र भर्ती खर्चको प्रमाण पेश गर्न रोजगारदातालाई दूतावासको निर्देशन।

क्वालालम्पुर (मलेसिया):= नेपाली राजदूतावास क्वालालम्पुर मलेसियाले मलेसियामा नेपाली श्रमिकलाई रोजगारी “काम”मा राख्ने रोजगारदाता कम्पनीहरूलाई श्रमिकसम्बन्धी सम्पूर्ण विवरण तथा प्रमाण पेश गर्न निर्देशन दिएको छ।

राजदूतावास स्रोतका अनुसार दूतावासको श्रम शाखाले करिबकरिब ३२०० भन्दा बढी रोजगारदाता कम्पनीहरुलाई अनलाइन ईमेलमार्फत जारी गरेको आधिकारिक पत्रमा कम्पनीहरूले यसअघि दूतावासमा पेश गरेको एसुरेन्स नोट (Assurance Note) मा उल्लेख गरे अनुसारका प्रतिबद्धता कार्यान्वयन भए/नभएकोबारे विस्तृत जानकारी दूतावासले माग गरेको हो।

जसअन्तर्गत नेपाली कामदारलाई मलेसियामा काममा भर्ती प्रक्रियामा लागेको खर्च, हवाई टिकट तथा नेपालको नेपाली म्यानपावर कम्पनीलाई यहाँका रोजगारदाता कम्पनीले तिरेको सेवा शुल्कको प्रमाण समेत पेश गर्नुपर्नेछ।

त्यसैगरी, नेपाली श्रमिकका लागि उपलब्ध गराइएको आवास मलेसियाली कानुनी मापदण्डअनुसार रहेको पुष्टि गर्न पनि दूतावासले निर्देशन दिएको छ। श्रमिकको तलब तथा ओभरटाइम भुक्तानी समयमै बैंक खातामार्फत भइरहेको प्रमाणसमेत पेश गर्नुपर्ने उल्लेख गरिएको छ।

दूतावासले नेपाली श्रमिकहरूलाई स्वीकृत स्थानभन्दा बाहिर काममा नलगाउन चेतावनी दिँदै हाल कार्यरत सबै कम्पनी तथा साइटहरूको सूची उपलब्ध गराउन भनेको छ। साथै, मलेसिया ल्याइसकिएका र ल्याउन बाँकी रहेका नेपाली श्रमिकको संख्या पनि स्पष्ट गर्नुपर्नेछ।

पत्रअनुसार नयाँ भर्ती भएका नेपाली कामदारहरूको सम्पूर्ण विवरण तीन महिनाभित्र दूतावासमा अनिवार्य रूपमा बुझाउनुपर्नेछ। यदि कम्पनीहरूले नयाँ क्लाइन्ट थपेका छन् भने त्यसबारे पूर्व जानकारी दूतावासलाई गराउनुपर्नेछ।

दूतावासले संलग्न एक्सेल फाराममा सबै विवरण भरेर यथाशीघ्र बुझाउन आग्रह गरेको छ। श्रमिकको अधिकार संरक्षण, पारदर्शिता तथा रोजगार प्रक्रियालाई व्यवस्थित बनाउन यस्तो कदम चालिएको दूतावासले जनाएको छ।