क्वालालम्पुर (मलेसिया):= मलेसियामा अबैधानिक रूपमा बसोबास तथा काम गर्दै आएका नेपाली नागरिकहरूलाई कानुनी रूपमा सुरक्षित रहन आग्रह गर्दै जन उद्धार केन्द्र मलेसियाले पुनः सचेत गराएको छ। केन्द्रले झापा जिल्ला निवासी हेमराज तामाङलाई ७ महिनापछि स्वदेश फर्काउन सफल भएको जनाएको छ।
प्राप्त जानकारीअनुसार हेमराज तामाङ लामो समयदेखि मलेसियामा अबैधानिक रूपमा कार्यरत रहँदै आउनुभएको थियो। यसै क्रममा मलेसियाको अध्यागमन विभागले छापा मार्ने क्रममा उहाँलाई पक्राउ गरेको थियो। पक्राउपछि उहाँलाई पेनाङ राज्यस्थित जुरु पुलिस क्याम्पमा राखिएको अवस्था रहेको बताइएको छ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ जन उद्धार केन्द्र मलेसियाले आवश्यक कानुनी प्रक्रिया तथा समन्वय अघि बढाएको जनाएको छ। केन्द्रका अध्यक्ष केशु थापाको विशेष पहल र समन्वयमा हेमराज तामाङलाई स्वदेश फर्काउने सम्पूर्ण प्रक्रिया पूरा गरिएको हो। साथै उहाँको नेपाल फर्किने हवाई टिकटसमेत केन्द्रले नै उपलब्ध गराएको जानकारी दिइएको छ।
जन उद्धार केन्द्र मलेसियाले विदेशमा रहँदा कानुनी रूपमा सुरक्षित भएर बस्नु नै सबैभन्दा ठूलो सुरक्षा भएको उल्लेख गर्दै अबैधानिक बसाइँले कुनै पनि बेला गिरफ्तारी, हिरासत, आर्थिक संकट तथा परिवारसँगको दूरीजस्ता गम्भीर समस्या निम्त्याउन सक्ने जनाएको छ।
केन्द्रले मलेसिया सरकारद्वारा अबैधानिक रूपमा बसिरहेका नेपालीहरूले आरएम ५२० जरिवाना तिरि सहज रूपमा स्वदेश फर्किन सक्ने व्यवस्था रहेको भन्दै समयमै सम्बन्धित निकायमा सम्पर्क गरी प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ। “विदेशको कमाइभन्दा पनि आफ्नो जीवन र परिवारको सुरक्षा ठूलो कुरा हो,” भन्दै जन उद्धार केन्द्रले सबै नेपालीलाई सचेत र सुरक्षित रहन अपिल गरेको छ।




















