विश्वव्यापी चुनौतीबीच पनि मलेसियाको रोजगारी बजार र अर्थतन्त्र बलियो।

क्वालालम्पुर (मलेसिया):= मलेसियाको रोजगार बजार सन् २०२६ को पहिलो त्रैमासिक (Q1 2026) मा उल्लेखनीय रूपमा विस्तार भएको छ। Department of Statistics Malaysia (DOSM) ले सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशमा श्रमिकको कुल माग वार्षिक १.८ प्रतिशतले बढेर ९.२३ मिलियन पुगेको छ। गत वर्षको सोही अवधिमा यो संख्या ९.०५ मिलियन रहेको थियो।

प्रतिवेदन अनुसार यस अवधिमा मात्रै ३२ हजार ७ सय नयाँ रोजगारीका अवसर सिर्जना भएका छन्। कुल रोजगारमध्ये ९७.९ प्रतिशत पदहरू भरिएका छन् भने बाँकी २.१ प्रतिशत पद रिक्त रहेका छन्।

DOSM का प्रमुख तथ्याङ्कविद् दातुक सेरी मोह्द उजिर महिदिनले विश्वव्यापी आपूर्ति संकट, पश्चिम एशियामा बढ्दो द्वन्द्व तथा भू-राजनीतिक तनावका बाबजुद मलेसियाको अर्थतन्त्र मजबुत रहेको बताएका छन्। सरकारले लागू गरेका आर्थिक सुरक्षात्मक उपाय तथा आन्तरिक बजारको स्थिरताले रोजगारी क्षेत्रमा सकारात्मक प्रभाव पारेको उनको भनाइ छ।

सेवा क्षेत्र रोजगारीको मुख्य आधार बनेको छ। कुल भरिएका रोजगारीमध्ये ५३.३ प्रतिशत सेवा क्षेत्रमा रहेका छन् भने उत्पादन र निर्माण क्षेत्र क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्।  विश्लेषकहरूका अनुसार पछिल्लो तथ्याङ्कले विश्वव्यापी आर्थिक अनिश्चितताबीच पनि मलेसियाको श्रम बजार र आन्तरिक अर्थतन्त्रले स्थायित्व कायम राखेको संकेत गरेको छ।