क्वालालम्पुर (मलेसिया):= अध्यागमन विभाग “इमिग्रेशन” ले अवैध आप्रवासी (PATI) नियन्त्रण अभियानलाई तीव्र बनाउँदै सेलाङ्गोरको पुचोङ क्षेत्रमा धरपकड सम्बन्धि विशेष अपरेशन सञ्चालन गरेको छ।
वैध कागजात तथा कार्य अनुमति बिना विदेशी कामदार राख्ने रोजगारदातामाथि पनि कडा निगरानी र कारबाही जारी राखिएको विभागले जनाएको छ। अध्यागमन विभागका अनुसार देशको कानुन संरक्षण तथा नियमविपरीत गतिविधि नियन्त्रण गर्ने प्रतिबद्धताअनुसार कुनै सम्झौता नगरी अभियान सञ्चालन भइरहेको छ।
पुत्रजायास्थित प्रवर्तन विभागले मे १२, २०२६ मा बिहान ११ बजेदेखि राति ८ बजेसम्म ठूलो स्तरको अपरेशन सञ्चालन गरेको हो। सर्वसाधारणबाट प्राप्त गुनासो तथा एक सातासम्म गरिएको गुप्त अनुसन्धानका आधारमा रेस्टुरेन्ट, खाद्य पसल, किराना, सैलुन, लुगा धुने पसल, व्यापारिक किओस्क तथा एक ठूलो सुपरमार्केटमा छापा मारिएको थियो।

उक्त अभियानमा ५९ जना अध्यागमन अधिकारी परिचालन गरिएको थियो। पुचोङ आसपासका ३० वटा व्यावसायिक स्थलमा जाँच गर्दा १८६ विदेशी र १७५ स्थानीय नागरिकमाथि निगरानी गरिएको जनाइएको छ। कारबाहीका क्रममा इन्डोनेसिया, म्यानमार, नेपाल, बंगलादेश, भारत, पाकिस्तान तथा चीनका २३ देखि ४५ वर्ष उमेर समूहका ७४ विदेशी नागरिक पक्राउ परेका छन्।
उनीहरूलाई अध्यागमन ऐन १९५९/६३ तथा अध्यागमन नियमावली १९६३ अन्तर्गत विभिन्न कसुरमा नियन्त्रणमा लिइएको बताइएको छ। अनुसन्धानमा सहयोगका लागि पाँच जना मलेसियाली नागरिकलाई “Borang 29” समन जारी गरिएको छ। स्थानीय व्यापार लाइसेन्सको आडमा अवैध रूपमा विदेशी कामदार राखी नाफा कमाउने उद्देश्यले गतिविधि सञ्चालन भइरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको विभागले जनाएको छ।
जाँचका क्रममा केही अवैध आप्रवासीहरूले अधिकारीलाई उक्साउने, सहयोग नगर्ने, भाग्ने प्रयास गर्ने तथा विभिन्न बहाना बनाएर कारबाहीबाट बच्न खोजेको पनि विभागले उल्लेख गरेको छ। यस्ता गतिविधिले सार्वजनिक शान्ति तथा स्थानीय समुदायको सुरक्षामा असर पुर्याउने चेतावनी JIM ले दिएको छ।
पक्राउ परेका सबै विदेशीलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि अध्यागमन हिरासत केन्द्रमा राखिएको छ। साथै, अवैध रूपमा बसोबास गर्ने, भिसा अवधि नाघेर बस्ने तथा पास दुरुपयोग गर्ने विदेशीमाथि कुनै सम्झौता नगर्ने चेतावनी दिँदै अवैध आप्रवासीलाई रोजगार वा संरक्षण दिने रोजगारदाता तथा सम्बन्धित पक्षमाथि पनि कडा कारबाही गरिने विभागले जनाएको छ।




















