ललितपुर:= ललितपुरको जावलाखेलमा रहेको मुन म्यानपावरमा श्रम मन्त्रालयले शुक्रबार छापा मारेको छ। मलेसिया जान लागेका एक युवाको गुनासोपछि प्रधानमन्त्री कार्यालयको निर्देशनमा अनुगमन गरिएको जनाइएको छ।
श्रममन्त्री रामजी यादवका स्वकीय सचिव सरोज यादवका अनुसार छापाका क्रममा ४३७ वटा पासपोर्ट र करिब ७ लाख ९० हजार रुपैयाँ नगद बरामद गरिएको छ। बरामद नगदको रसिद फेला नपरेको बताइएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत उक्त मेनपावरविरुद्ध उजुरी परेको थियो। सोही उजुरी प्रधानमन्त्री कार्यालयले वैदेशिक रोजगार विभागमा पठाएपछि अनुसन्धान अघि बढाइएको र त्यसपछि नेपाल प्रहरीको सहयोगमा छापा मारिएको जनाइएको छ।
म्यानपावर कम्पनीलाई सिल गरेर थप कारबाही अघि बढाइने श्रम मन्त्रालयले जनाएको छ। साथै वैदेशिक रोजगारीसम्बन्धी कुनै गुनासो भए २४सै घण्टा मन्त्रीको सचिवालयमा जानकारी दिन आग्रह गरिएको छ।




















