क्वालालम्पुर (मलेसिया):= मलेसियामा रहेका नेपाली समुदायबीच लोकप्रिय बन्दै गएको “दोस्रो आरटी गोल्ड कप २०२६” फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ। आयोजकले प्रतियोगिताका लागि टिम दर्ता आधिकारिक रूपमा खुला गरिएको जानकारी दिएको छ ।
प्रतियोगितामा मलेसियाका विभिन्न क्षेत्रबाट सहभागी हुने टिमहरूबीच प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। अघिल्लो संस्करणको सफलताले उत्साहित आयोजकले यसपटक प्रतियोगितालाई अझ भव्य, व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउने लक्ष्य लिएको जनाएको छ।
आयोजकका अनुसार प्रतियोगितामा सीमित टिमहरूलाई मात्र सहभागी गराइनेछ। त्यसैले इच्छुक टिमहरूलाई समयमै दर्ता प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ। विजेता तथा उपविजेता टिमका लागि आकर्षक नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिनेछ।
यस्तै, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता लगायत विभिन्न व्यक्तिगत विधामा समेत पुरस्कार प्रदान गरिनेछ। प्रतियोगिताको मिति, स्थान र अन्य प्राविधिक विवरण छिट्टै सार्वजनिक गरिने आयोजकले जनाएको छ।
मलेसियामा रहेका नेपाली युवाहरूबीच खेलकुदमार्फत एकता, भाइचारा र स्वास्थ्यप्रतिको जागरूकता बढाउने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको हो।आयोजकले भनेको छ— “यो केवल प्रतियोगिता मात्र होइन, नेपाली समुदायलाई एकजुट बनाउने एउटा उत्सव पनि हो।”




















