यसबर्ष एसइई परिक्षाको उत्तरपुस्तिका सम्बन्धित केन्द्रमै परीक्षण-जाँच गरिने।

काठमाडौं := यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तरपुस्तिका देशभरका परीक्षा केन्द्र (सेन्टर) मा नै परीक्षण गरिने भएको छ । परीक्षा बोर्डले परीक्षा सकिएको विषयको उत्तरपुस्तिका तीन दिनभित्र परीक्षा केन्द्रमै परीक्षणको व्यवस्था गर्ने निर्णय गरेको हो । उत्तरपुस्तिका परीक्षा सेन्टरमै परीक्षण गराउने कि इकाइमा ल्याएर परीक्षण गर्ने विषयमा सम्बन्धित इकाइलाई नै निर्णय गर्ने अधिकार दिइएको बोर्डले जनाएको छ ।

शिक्षा सचिव चूडामणि पौडेलले यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गर्ने निर्णय भएको र केन्द्रमा परीक्षण गर्न नसक्ने अवस्था आएमा परीक्षा सकिएकै दिन उत्तरपुस्तिका जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइमा ल्याएर परीक्षण गराउन सकिने उल्लेख गर्नुभएको छ। ‘तोकिएको समयभित्रै उत्तरपुस्तिका परीक्षण सकेर प्राप्तांक बोर्डमा पठाउनुपर्छ । परीक्षा सकिएको तीन दिनभित्र परीक्षण सक्न सर्कुलर गर्दै छौँ’, पौडेलले भन्नुभयो ।

विगतका वर्षहरूमा केन्द्रबाट उत्तरपुस्तिका इकाइले संकलन गरी अन्तरजिल्ला र प्रदेशमा परीक्षण गर्ने गरिएको थियो । कुन परीक्षा केन्द्रको उत्तरपुस्तिका कहाँ परीक्षण हुने विषय गोप्य रहने गरेको थियो । सो कारण नतिजा प्रकाशन गर्न औसतमा साढे दुई महिनाभन्दा बढी समय लाग्ने गरेको थियो। तर, यसपटक शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले एसइई परीक्षाको उत्तरपुस्तिका छिटो परीक्षण गरी एक महिनाभित्रै परीक्षाफल प्रकाशन गर्न निर्देशन दिनुभएको छ ।

सोअनुसार राष्ट्रिय परीक्षा बोर्डले छोटो समयमै परीक्षाफल निकाल्ने गरी तयारी गरेको छ । उत्तरपुस्तिका परीक्षण गरेर जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइले प्राप्तांक बोर्डमा पठाउनेछ । बोर्डले इन्ट्री तथा रुजु गरी परीक्षाफल प्रकाशित गर्नेछ ।

एक महिनाभित्रै परीक्षाफल प्रकाशित गर्ने तयारी

माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा अब परीक्षा सकिएको एक महिनाभित्रै सार्वजनिक गर्नेगरी तयारी सुरु गरिएको छ । विगतमा नतिजाका लागि तीन महिना कुर्नुपर्ने बाध्यताका कारण विद्यार्थीको माथिल्लो तहको पढाइमा ढिलाइ हुने र ब्रिजकोर्सका नाममा ठगिने समस्या बढेपछि शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय परिक्षा बोर्डलाई यस्तो निर्देशन दिनुभएको थियो ।

यस व्यवस्थालाई कार्यान्वयन गर्न राष्ट्रिय परीक्षा बोर्डले उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशनसम्बन्धी नयाँ कार्यविधि एक साताभित्र मन्त्रालयमा पेस गर्दै छ । नयाँ योजनाअनुसार, प्रक्रियालाई छिटो छरितो बनाउन यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था मिलाइनेछ । उक्त कार्यतालिकाअनुसार वैशाख मसान्तसम्म एसइईको नतिजा प्रकाशन हुनेछ ।