काठमाडौं := माध्यमिक शिक्षा परीक्षा (एसइई) आज (बिहीबार)देखि आरम्भ हुँदै छ । परीक्षा बिहान ८ बजेबाट सुरु हुन लागेको हो । आजबाट आरम्भ भएको यो परीक्षामा ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुँदै छन् । जसमा दुई लाख ५७ हजार ६१३ जना छात्रा छन् भने दुई लाख ५४ हजार ८०१ छात्र र सातजना अन्य विद्यार्थी परीक्षामा सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।
यस्तै, जापानको एभरेस्ट स्कुलबाट २३ जना विद्यार्थी पनि यस वर्ष एसइई परीक्षामा सहभागी हुँदै छन् । एसइई परीक्षाको लागि देशभर एक हजार ९६६ परीक्षा केन्द्र तोकिएका छन् ।राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उपनियन्त्रक विष्णुप्रसाद ज्ञवालीले यसपटक एसइई परीक्षा दिनेमा सबैभन्दा बढी परीक्षार्थी काठमाडौंका रहेको र सबैभन्दा कम मनाङमा रहेका जानकारी गराउनुभयो ।
उहाँका अनुसार काठमाडौंका १३५ वटा परीक्षा केन्द्रबाट ४१ हजार १५५ जना विद्यार्थीले परीक्षा दिँदै छन् भने सबैभन्दा कम मनाङमा एउटा परीक्षा केन्द्रबाट ३७ जना विद्यार्थीले परीक्षा दिँदै छन् । ‘हामीले एकपटक परीक्षा दिएर सफल हुन नसकेका विद्यार्थीलाई कम्तीमा तीनपटक मौका दिने गरेका छौँ । पहिलोपटक पास नभएका विद्यार्थीलाई पूरक मौका दिइन्छ ।
पूरकमा पनि पास नभएका विद्यार्थीले तीनपटक परीक्षा दिन पाउँछ। अहिले चाहिँ २०७९ सालमा नियमित समूहबाट परीक्षा दिएर अहिलेसम्म सफल नभएका विद्यार्थीलाई हामीले परीक्षा फाराम भर्ने अवसर दिएका थियौँ । त्यस्ता परीक्षार्थीहरू पनि हुनुहुन्छ । यसवर्ष ग्रेडवृद्धिका ६५ हजार ८९५ जना परीक्षार्थीहरू परीक्षामा सहभागी हुँदै छन्’, उहाँले भन्नुभयो ।
साथै बालसुधार गृहमा रहेका विद्यार्थीलाई नजिकैको परीक्षा केन्द्रबाट व्यवस्थापन गर्नको लागि गृहकार्य गरेको र विशेष क्षमता तथा अपांगता भएका विद्यार्थीलाई पनि उनीहरूको आवश्यकता अनुसारको व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो । एसइई केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी र सुरक्षाकर्मी गरी परीक्षामा साढे ७३ हजार जनशक्ति परिचालन हुनेछन् । परीक्षा चैत २९ गतेसम्म चल्नेछ ।




















