काठमाडौं := राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो । सोही सिफारिश आधारमा राष्ट्रपति पौडेलले अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिनुभयो।
सरकारले आगामी चैत १९ गते दिउँसो २ बजे बस्नेगरी बैठक आह्वान गर्न सिफारिश गरेको थियो । राष्ट्रपति कार्यालयका प्रवक्ता शाक्यका अनुसार राष्ट्रपति पौडेलले संविधानको धारा ९३ को उपधारा १ अनुसार बैठक आह्वान भएको हो । गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक संघीय संसद्को अधिवेशन आह्वान भएको हो । फागुन २१ को प्रतिनिधिसभा चुनावअघि राष्ट्रियसभा अधिवेशन अन्त्य भएको थियो ।
सरकारले संविधान संशोधनका लागि बहसपत्र तयार गर्न प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकारको नेतृत्वमा संसद्मा रहेका सबै दलको प्रतिनिधित्व रहनेगरी कार्यदल गठन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रअनुरूप संविधान संशोधनका लागि बहसपत्र तयार गर्न लागिएको बताउनुभयो ।
उहाँले संविधान संशोधनका लागि सबै दलको सहमति आवश्यक हुने उल्लेख गर्नुभयो । साथै प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार असिम साहको अध्यक्षतामा कार्यदल गठनको निर्णय गरेको हो । साह प्रतिनिधिसभाका पूर्व-सांसदसमेत हुनुहुन्छ । ‘राजनीतिक सल्लाहकारको अध्यक्षतामा रहने कार्यदलमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलको प्रतिनिधि रहनुहुन्छ’, पोखरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै भन्नुभयो, ‘राष्ट्रिय सहमतिमा संविधान संशोधनका लागि बहसपत्र तयार हुन्छ ।’





















