अश्लील गीत विवाद: बलिउड अभिनेत्री नोरा फतेहीमाथि उजुरी।

एजेन्सी := क्यानडाली मूलकी बलिउड अभिनेत्री नोरा फतेही यतिबेला कानुनी र सामाजिक विवादमा पर्नुभएको छ। कन्नड फिल्म केडी: द डेभिलको ‘सरके चुनर तेरी सरके’ गीतका कारण विवाद चर्किएको हो ।

१० जना वकिलहरूको समूहले भारतीय गृहमन्त्रालयमा उजुरी दिँदै उहाँको श्रम स्वीकृति रद्द गरी क्यानडा फर्काउनुपर्ने माग गर्नुभएको छ। उक्त गीतका शब्दहरू अश्लील र महिलाको अस्मितामाथि चोट पुर्‍याउने खालको रहेको आरोप लगाइएको छ।

यस क्रममा फरेनर्स एक्ट १९४६, पासपोर्ट एक्ट १९२० र इन्फरमेशन टेक्नोलोजी एक्ट २०००, अन्तर्गत कारबाहीको माग गरिएको बताइएको छ। गीतका रचनाकार रकीब आलमले भने यो विवादको जिम्मा निर्देशक प्रेमलाई दिनुभएको छ। उहाँले जबरजस्ती हिन्दीमा अनुवाद गरिएकाले यस्तो अवस्था आएको बताउनुभएको छ।

यता सन्जय दत्त पनि गीतमा देखिए पनि आलोचना बढी नोरा फतेही तर्फ केन्द्रित भएको छ। आफ्नो बचाउमा नोरा फतेहीले आफूलाई गीतको हिन्दी शब्दबारे जानकारी नभएको र अनुमति बिना परिवर्तन गरिएको बताउनुभएको छ। उहाँले आफू निर्दोष रहेको दाबी गर्नुभएको छ।