क्वालालम्पुर (मलेसिया):= मलेसिया अध्यागमन विभाग (JIM) सेलाङ्गोरले चाडपर्वको समयमा विदेशी नागरिकको गतिविधि निगरानी गर्न ‘Ops Omnipresent’ अभियानलाई तीव्र बनाएको छ। उक्त अपरेसन निरन्तर रूपमा सञ्चालन भइरहेको छ, जसअन्तर्गत पहिचान गरिएका ‘हटस्पट’ क्षेत्रमा नियमित गस्ती र जाँच भइरहेको विभागले जनाएको छ।
JIM सेलाङ्गोरका निर्देशक खैर्रुल अमिनुस कमारुद्दिनका अनुसार यस अभियानका लागि दुई विशेष टोली गठन गरिएको छ, जसमा १६ जना अधिकारी खटिएका छन्। उनका अनुसार अपरेसनका प्रमुख स्थानहरूमा पोर्ट क्लाङ बस स्टप, क्लाङ बस टर्मिनल, क्षेत्र १३ क्लाङ, शाह आलम सेक्शन १५ को डातारान ओटोमोबिल, सेलायाङ थोक बजार, सनवे मेन्तारी कोर्ट, जीएम क्लाङ होलसेल र तामान श्री मुदा बजार समावेश छन्।
गत शुक्रबारदेखि आजसम्म सञ्चालन गरिएको अपरेसनमा कुल २०० जनाको जाँच गरिएको उनले जानकारी दिए।अपरेसनका क्रममा विभागका आधिकारिक सवारी साधन प्रयोग गरिएको छ, जसमा ‘बीकन’ बत्ती जडान गरिएको छ, ताकि स्थलमा सुरक्षाकर्मीको उपस्थिति अझ स्पष्ट देखियोस्।
उनले यसले सर्वसाधारणमा सुरक्षाप्रति विश्वास बढाउने उद्देश्य रहेको बताए। साथै, चाडपर्व अवधिभर यस्ता निगरानी तथा कारबाही अझ सशक्त रूपमा जारी रहने उनले बताए। शंकास्पद गतिविधिबारे जानकारी भएमा सम्बन्धित निकायलाई सूचना दिन सर्वसाधारणलाई आग्रह गरिएको छ।



















