मलेसियामा कम्पनीमा कार्यरत एक नेपालीले आफ्नै नेपाली साथीको हत्या आरोपमा पक्राउ।

बुकित मेर्ताजम (मलेसिया):= मलेसिया पेनाङस्थित पर्माताङ तिङ्गीमा अवस्थित कम्पनीको होस्टेलमा एक २५ वर्षीय नेपालीले आफ्नै नेपाली सहकर्मीको हत्या आरोपमा प्रहरीद्वारा पक्राउ परेका छन्।

आफ्नै देशवासीको हत्याको आरोपमा अनुसन्धान गर्न २५ वर्षीय नेपालीलाई ७ दिनको लागि हिरासतमा राखिएको स्थानीय प्रहरीले जनाएको छ। मजिस्ट्रेट सविन्दर सिंह जुगिन्दर सिंहले मलेसियन कानुनको दण्ड संहिताको धारा ३०२ अन्तर्गत अनुसन्धानका लागि आरोपित नेपालीलाई मार्च २९ तारिखसम्म हिरासतमा राख्ने आदेश दिएका हुन्।

यस अपराधमा आरोप पुष्टि भएमा मृत्युदण्ड वा ३० देखि ४० वर्षको जेल सजाय हुनेछ। बिहान ०१:०० बजेको घटनापछि गम्भीर चोटपटकका कारण २२ वर्षीया पीडित नेपालीको मृत्यु भएको थियो।

पीडित र संदिग्ध, जो दुवैजना हाँस प्रशोधन कारखाना “कम्पनी”मा काम गर्थे, उनीहरूको होस्टेलको डर्ममा पहिले झगडा भएको बताइएको छ। झगडापछि पीडित खाना खानका लागि बाहिर गएका थिए तर उनी फर्किएपछि छुराले तुरुन्तै आक्रमण गरिएको स्थानीय मिडियामा प्रकाशित समाचारमा उल्लेख छ।

प्रहरीले होस्टेलमा संदिग्ध आरोपितलाई पक्राउ गर्‍यो र आक्रमणमा प्रयोग भएको विश्वास गरिएको छुरीसमेत जफत गरेको छ।

समाचार स्रोत : NEW STRAIGHTS TIMES ONLINE MEDIA