काठमाडौं := राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शीर्ष नेताहरू सरकार गठनसम्बन्धी आन्तरिक छलफलमा सक्रिय रूपमा जुट्नुभएको छ। उपसभापति डा. स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमार्फत सो जानकारी दिनुभएको हो। उहाँले बिहीबार साँझ रवि लामिछाने, बालेन्द्र शह, डोलप्रसाद अर्याल लगायत शीर्ष नेताहरूसँगको तस्वीर सार्वजनिक गर्दै ‘राजकाज, आज साँझको छलफल’ उल्लेख गर्नुभएको छ।
राजधानीस्थित एक होटलमा आयोजित उक्त छलफलमा सरकार गठनको प्रक्रिया, मन्त्रालय बाँडफाँट तथा नेतृत्व चयनजस्ता विषयमा गम्भीर विमर्श भएको जनाइएको छ। यसैबीच निर्वाचन आयोग नेपाल ले प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन रामचन्द्र पौडेल समक्ष पेश गरिसकेको छ।
रास्वपाले संसदीय दलको नेता चयन गरेसँगै नयाँ सरकार गठनका लागि आह्वान हुने तयारी रहेको बुझिएको छ। आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई प्रमाणपत्रसमेत वितरण गरिसकेको छ। यसै सन्दर्भमा रास्वपाले पार्टी विधान संशोधन गरी बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउने बाटो खोल्ने तयारी गरिरहेको छ। चुनावअघि नै उहाँलाई संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने घोषणा गरिएको थियो।
निर्वाचनमा स्पष्ट बहुमत नजिकको जनादेश प्राप्त गरेको रास्वपाले एकल सरकार गठन गर्ने दिशामा अघि बढेको छ। सरकारमा सहभागी हुने अर्थ, गृह लगायत महत्वपूर्ण मन्त्रालयमा कसलाई जिम्मेवारी दिने भन्ने विषयमा शीर्ष नेताहरूबीच गहन छलफल भइरहेको छ। अर्थ मन्त्रालयमा डा. वाग्ले, गृह मन्त्रालयमा अर्याल तथा परराष्ट्र मन्त्रालयमा शिशिर खनालको नाम चर्चामा रहेको जनाइएको छ।



















