कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै, सभापति थापाको राजीनामा स्वीकृत होलान् ?

काठमाडौं := नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनपछि पहिलो पटक बस्न लागेको यो बैठकलाई पार्टीभित्र निकै महत्त्वका साथ हेरिएको छ। निर्वाचनको समीक्षा र भावी रणनीति तय गर्ने मुख्य एजेन्डासहित बैठक बोलाइएको हो ।

तर, बैठकअघि नै पार्टी सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिनु भएपछि बैठकको केन्द्रबिन्दु झन् बदलिएको छ । सभापति थापाले बुधबार आफ्नो राजीनामापत्र उपसभापति विश्वप्रकाश शर्मा लाई बुझाउनुभएकाे थियाे । उक्त राजीनामाको विषय पनि आजको बैठकमा प्रमुख रूपमा उठ्नेछ । यसअघि नै उपसभापति शर्माले सभापतिको राजीनामा अस्वीकृत गरिने बताउनुभएकाे छ ।

तर, अन्तिम निर्णय भने केन्द्रीय कार्यसमितिको छलफलपछि हुने जनाइएको छ। विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा सभापति बन्नुभएका थापाको राजीनामापछि आजको बैठकको सभापतित्व पहिलो पटक उपसभापति शर्माले गर्नुहुनेछ । उपसभापति पुष्पा भुसालका अनुसार बैठकमा निर्वाचनको गहन समीक्षा गरिनेछ।

साथै, उपसभापति शर्माले सभापति थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस गर्ने तयारी गर्नुभएकाे छ। बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ ।