काठमाडौं := गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा हेमराज शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । अध्यक्षमा उम्मेदवारी दिएका दुर्ई उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि उहाँ निर्विरोध चयन हुनुभएको हो । अध्यक्षका लागि शर्मासँगै रोबिन शेरचन र रविन बज्राचार्यले उम्मेदवारी दिनुभएको थियो। दुवै जनाले उम्मेदवारी फिर्ता लिनुभएको थियो । एनआरएनएको कार्यसमितिका सबै पदमा सहमति जुटेको बताइएको छ ।
सम्मेलनबाट १२ बुँदे काठमाडौँ घोषणापत्र जारी समेत जारी भएको छ । ‘हाम्रो एकता, समृद्धिको आधार’ भन्ने मूल नाराका साथ फागुन ३० गतेदेखि सुरु भएको सम्मेलनले नेपालको आर्थिक समृद्धिमा एकताबद्ध भएर लाग्ने र गैरआवासीय नेपालीका अधिकार सुनिश्चित गर्ने साझा संकल्प गरेको छ।सम्मेलनमा ४ हजार २ सय ८६ प्रतिनिधिहरूले भौतिक र भर्चुअल माध्यमबाट सहभागिता जनाएका थिए।

परराष्ट्रमन्त्री बालानन्द शर्माले उद्घाटन गरेको सम्मेलनमा विभिन्न मन्त्रीहरू, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, सरकारका उच्च पदाधिकारी र विश्वभरबाट आएका लगानीकर्ता एवं श्रमिक प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।यसैगरी सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुशीला कार्कीले एनआरएनएभित्रको एकताले मुलुकको विकासमा नयाँ आशा जगाएको बताइन् ।
विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र पुँजीलाई मातृभूमिको हितमा परिचालन गर्न सरकारले सधैँ साथ दिने प्रतिबद्धता व्यक्त गरिन् । गत मङ्सिरमा भएको १० बुँदे सहमतिपछि एकताबद्ध रूपमा सम्पन्न यस सम्मेलनले संघलाई संस्थागत स्थायित्व दिएको भन्दै प्रधानमन्त्रीले खुसी व्यक्त गरिन् ।




















