काठमाडौं := राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि दुईदिने अभिमुखीकरण कार्यक्रम सुरु गर्ने भएको छ। पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिनुभएअनुसार आजदेखि सुरु हुने उक्त कार्यक्रम ललितपुरको होटल रोयल टुलिप मा आयोजना गरिएको छ ।
आज र भोलि सञ्चालन हुने अभिमुखीकरणमा सांसदहरूलाई संसदीय अभ्यास, नीति निर्माण प्रक्रिया, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारीबारे विस्तृत जानकारी दिइनेछ। साथै पार्टीले आगामी दिनमा अवलम्बन गर्नुपर्ने नीतिगत दिशाबारे पनि छलफल गरिने उहाँले बताउनुभयो।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिकतर्फ गरी कुल १८२ सिट जितेको थियो। कार्यक्रममा सहभागी हुने नवनिर्वाचित सांसदहरूका लागि पार्टीले केही अनुशासनसम्बन्धी निर्देशन समेत जारी गरेको छ।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गर्नुभएको ६ बुँदे निर्देशनअनुसार अभिमुखीकरण स्थलमा सांसदहरूले मोबाइल फोन लैजान पाउने छैनन्। यसका साथै परिवारका सदस्य, साथीभाइ वा अन्य व्यक्तिलाई कार्यक्रम भइरहेको होटलमा बोलाउन पनि निषेध गरिएको छ।
कार्यक्रम स्थलमा परिवार वा अन्य व्यक्तिसँग भेटघाट गर्ने तथा फोटो खिच्ने कार्यसमेत गर्न नपाइने व्यवस्था गरिएको उहाँले उल्लेख गर्नुभएको छ।





















