एनआरएनए विवाद: अध्यक्षमा उम्मेदवारी दिएका रोविन शेरचनले लिए उम्मेदवारी फिर्ता।

काठमाडौं := गैरआवासीय नेपाली संघ (एनआरएनए)को नेतृत्व सहमतिमै चयन गरिने भएको छ । सोहीअनुसार अध्यक्षका प्रत्यासी रोविन शेरचनले यसअघि दर्ता गराउनुभएको अध्यक्ष पदको उम्मेदवारी फिर्ता लिनुभएको छ। उहाँले अध्यक्षका अर्का उम्मेदवार हेमराज शर्मालाई समर्थन गर्दै शुक्रबार उम्मेदवारी फिर्ता लिएको जानकारी दिनुभएको हो ।

एनआरएनएका अध्यक्षद्वय बद्री केसी र महेश श्रेष्ठसहितको उच्चस्तरीय वार्तामा सहमतिका लागि शेरचन अध्यक्षको दौडबाट पछि हट्न सहमत हुनुभएको बताइएको छ । वार्तामा शेरचनलाई वरिष्ठ उपाध्यक्ष बनाउने सहमतिअनुसार उहाँले शुक्रबार नै वरिष्ठ उपाध्यक्ष पदमा मनोनयन दर्ता गराइसक्नुभएको छ ।

वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराउँदै शेरचनले भन्नुभयो, ‘मेरो सुरुदेखि नै भनाइ संस्था एकताबद्ध हुनुपर्छ भन्ने थियो । सोहीअनुसार संस्थाको हितका लागि आफ्नो उम्मेदवारी फिर्ता लिएको छु । सहमतिअनुसार वरिष्ठ उपाध्यक्षमा मैले मनोनयन दर्ता गराएको छु ।’

सहमतिसँगै अध्यक्ष श्रेष्ठले अहिलेको आवश्यकता सहमति भएकाले सोहीअनुसार अघि बढिएको बताउँदै शेरचनले फिर्ता लिएकोमा अन्य आकांक्षीहरूलाई पनि मिलाएर चुनाव नगर्नेतर्फ आफूहरूको ध्यान रहेको बताउनुभएको छ ।

केही महिनाअघि विभिन्न समूहमा विभक्त एनआरएनए एकीकृत भएको थियो भने सोही एकीकृत एनआरएनएको शनिबारदेखि १२औँ महाधिवेशन सुरु हुँदैछ ।