काठमाडौं := हालसम्मको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले ३६ ठाउँमा अग्रता लिएको छ । देशभरको नतिजा हेर्दा अहिलेसम्म कुनै पनि स्थानको अन्तिम मतपरिणाम आएको छैन । अहिलेसम्म देशभर नेकपा एमालेले छ ठाउँमा अग्रता लिएको छ भने नेपाली कांग्रेसले दुई र नेकपाले एक ठाउँमा अग्रता लिएको छ ।
देशको पाँचौं दल राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिलेसम्म कुनै पनि ठाउँमा अग्रता लिएको छैन। कुलमान घिसिङको नयाँ पार्टी उज्यालो नेपालले काठमाडौँ क्षेत्र नम्बर ३ मा पनि अग्रता लिन सकेको छैन। देशभरको चुनावी नतिजा हेर्दा सुरुवाती चरणबाटै राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिइरहेको छ ।
रास्वपाले अग्रता कायम गरेका अधिकांश क्षेत्रमा फराकिलो अन्तर रहेको छ । यस निर्वाचनको इपिसेन्टर मानिएको झापा– ५ मा रास्वपाका बालेन शाहले अग्रता कायम गरेका छन् । यो समाचार तयार गर्दासम्म बालेनले १ हजार ४७८ मत प्राप्त गर्दा एमालेका ओलीले ३८५ मत प्राप्त गरेका छन् ।
त्यस्तै, भक्तपुर– २ मा पनि रास्वपाले अग्रता कायम गरेको छ। जहाँ रास्वपाका राजीव खत्रीले १ हजार ४०० मत ल्याउँदा एमालेका महेश बस्नेतले १ हजार २०० मत ल्याएका छन् ।त्यसैगरी चितवन– २ मा पनि रास्वपाका रवि लामिछानेले २ हजार ८०१ मत ल्याउँदा एमालेका अस्मित घिमिरे १ हजार २५९ मत प्राप्त गरेका छन् ।




















