एनआरएनएको १२औं महाधिवेशन, निर्वाचन स्थगित गरौं: अध्यक्ष प्रत्यासी शेरचन।

जापान:= गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष एवं आगामी १२औँ महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी रोबिनप्रसाद शेरचनले एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न माग गर्नुभएको छ।

मार्च १४ देखि १६ सम्म काठमाडौंमा तय भएको महाधिवेशन को संघारमा एक विशेष अपिल जारी गर्दै उहाँले वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र संस्थाभित्रको प्रक्रियागत विवादका कारण निर्वाचन प्रक्रिया रोक्न निर्वाचन समितिलाई आग्रह गर्नुभएको हो । शेरचनले विशेषगरी मध्यपूर्व क्षेत्रमा विकसित पछिल्ला असहज घटनाक्रमलाई मुख्य कारणका रूपमा अघि सार्नुभएको छ ।

अध्यक्षका प्रत्यासी शेरचनले वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र संस्थाभित्रको प्रक्रियागत विवादका कारण निर्वाचन प्रक्रिया रोक्न निर्वाचन समितिलाई आग्रह गर्नुभएको हो ।

संकटको घडीमा हजारौं नेपालीहरूले आशा र भरोसासाथ एनआरएनएतर्फ हेरिरहेको उल्लेख गर्दै उहाँले मानवीय संवेदना बिर्सेर चुनाव र पदमा मात्र केन्द्रित हुनु संस्थाको मूल मर्म विपरीत हुने जिकिर गर्नुभएको छ । मध्यपूर्वको असुरक्षाका कारण युरोप, अमेरिका र स्वयं मध्यपूर्वबाट नेपाल आउने प्रतिनिधिहरूको यात्रासमेत अनिश्चित बनेको अवस्थामा अग्रज र अभियन्ताहरूको व्यापक सहभागिताबिनाको महाधिवेशन अपूर्ण रहने शेरचनको भनाइ छ ।

त्यसैगरी संस्थाभित्रका प्राविधिक र वैधानिक त्रुटिहरू नसच्याई अघि बढ्नु आत्मघाती हुनेसमेत उहाँले चेतावनी दिनुभएको छ । शेरचनले कुल पञ्जीकृत सदस्यहरूको प्रमाणीकरणसहितको आधिकारिक विवरण सार्वजनिक नगरिएको, शुल्क नबुझाएका एनसिसी र सदस्यहरूको सूची अझै अपारदर्शी रहेको तथा विधानले तोकेको ३० दिनको अनिवार्य समयसीमा पालना नगरिएको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

उल्लेखित तमाम समस्या र विवादबीच पनि यदि महाधिवेशन गर्नैपर्ने बाध्यात्मक अवस्था हो भने चुनावी प्रतिस्पर्धाबाट नभई सर्वसम्मत रूपमा नेतृत्व चयन गर्नुपर्नेमा उहाँको जोड रहेको छ । सन् २०२१ को महाधिवेशनमा प्रतिनिधि विवादका कारण उत्पन्न फुट र तिक्तताको घाउ अझै निको नभएको स्मरण गराउँदै शेरचनले फेरि पनि कसैको वैधानिक अधिकार बेवास्ता गरे संस्थालाई थप क्षति पुग्ने भन्दै विवादित प्रक्रियामा सहभागी भएर संस्थाको मर्यादामा आँच आउने काम आफूबाट नहुने स्पष्ट पार्नुभएको छ ।

परिस्थिति सामान्य भई सबै प्रतिनिधिले सुरक्षाको प्रत्याभूति पाएपछि मात्र बृहत्तर एकतासहित महाधिवेशन सम्पन्न गर्नुपर्ने उहाँको सुझाव छ । उपाध्यक्ष शेरचनले एनआरएनएलाई बलियो, एकीकृत र उत्तरदायी बनाउन संकटको समयमा सहकार्य र एकताको उदाहरण प्रस्तुत गर्नुपर्ने भन्दै विश्वभर रहेका सम्पूर्ण गैरआवासीय नेपालीलाई धैर्य र संयम रहन अपिलसमेत गर्नुभएको छ ।