न्युजिल्याण्ड दोस्रोपटक आइसिसी टी-२० विश्वकप क्रिकेटको फाइनलमा।

नयाँदिल्ली := न्युजिल्याण्ड दोस्रोपटक आइसिसी टी-२० विश्वकपको फाइनलमा पुगेको छ । बुधबार राती भएको पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै न्युजिल्याण्ड दोस्रोपटक फाइनलमा पुगेको हो । न्युजिल्याण्ड पहिलोपटक २०२१ को फाइनलमा पुगेको थियो।

कोलकाताको इडेन गार्डेन स्टेडियममा दक्षिण अफ्रिकाले दिएको १६९ रनको लक्ष्य न्युजिल्याण्डले १२.५ ओभरमा १ विकेटमात्रै गुमाएर भेट्टायो । न्युजिल्याण्डलाई सानदार जित दिलाउन फिन एलेनले ३३ बलमा १०० रनको अविजित इनिङ खेल्नुभयो । न्युजिल्याण्डका फिन एलेनले विश्वकप इतिहासको सबैभन्दा छिटो शतक बनाउनुभएको छ ।

३३ बलमा अविजित १०० रन बनाएर उहाँले कीर्तिमान बनाउनुभएको हो । एलेनले वेष्ट इण्डिजका दिग्गज ब्याट्सम्यान क्रिस गेलको रेकर्ड तोड्नुभयो । यसअघि यो रेकर्ड वेष्ट इण्डिजका क्रिस गेलको नाममा थियो, जसले २०१६ मा ४७ बलमा शतक बनाउनुभएको थियो ।

सेफर्टले यस विश्वकपमा आफ्नो तेस्रो अर्धशतक बनाउनुभयो। न्युजिल्याण्डका ओपनर टिम सेफर्टले यस प्रतियोगितामा आफ्नो तेस्रो अर्धशतक बनाउनुभयो । उहाँले ३३ बलमा ५८ रन बनाउनुभयो । न्युजिल्याण्डका ओपनरहरूले शतकीय साझेदारी गरेका थिए ।

यो साझेदारी कागिसो रबाडाले १०औँ ओभरको पहिलो बलमा सेफर्टलाई बल गर्दा तोडियो । २०२१ पछि दोस्रोपटक टी–२० विश्वकपको फाइनलमा पुगेको न्युजिल्याण्ड पहिलो उपाधि जित्ने लक्ष्यमा छ । अब ८ मार्चमा हुने फाइनलमा न्युजिल्याण्डले भारत र इंग्ल्याण्डबीचको दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

यसअघि टस हारेर ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिका सुरुवातमै दबाबमा परेको थियो । ७७ रन जोड्दासम्म ५ विकेट गुमाएको प्रोटियाजलाई प्रतिस्पर्धी योगफलतर्फ डोर्‍याउने काम मार्को यानसेनले गर्नुभयो । उहाँले ३० बलमा ५ छक्का र २ चौकासहित अविजित ५५ रन बनाउनुभयो ।

डेवाल्ड ब्रेभिसले २७ बलमा ३४ तथा ट्रिस्टन स्टब्सले २४ बलमा २९ रन जोड्नुभयो । न्युजिल्याण्डका लागि म्याट हेनरी, कोल म्याककोन्ची र रचिन रविन्द्रले समान २-२ विकेट लिनुभयो । दक्षिण अफ्रिका दुई वर्षअघि फाइनलमा पराजित भएको थियो । दक्षिण अफ्रिकाले पछिल्लो टी-२० विश्वकपको फाइनल भारतविरुद्ध ७ रनले हारेको थियो ।

टी-२० विश्वकपको पहिलो आयोजक दक्षिण अफ्रिकाले २००७ मा लगातार दुई सुपर आठ खेल जितेको थियो तर भारतसँग अन्तिम खेल हारेपछि बाहिरिएको थियो । २००९ मा टोली सेमिफाइनलमा पुगेको थियो तर पाकिस्तानसँग हारेको थियो ।

२०१० र २०१२ मा समूह चरणबाटै बाहिरिएको थियो । २०१४ मा यो सेमिफाइनलमा पुगेको थियो तर भारतसँग हारेपछि बाहिरिएको थियो । अफ्रिकी टोलीले २०१६ देखि २०२२ सम्म समूह चरणबाटै बाहिरिने क्रम जारी रह्यो।   -एजेन्सी