काठमाडौं:= नेपाल सरकारले मध्यपूर्व तथा खाडी क्षेत्रमा उत्पन्न विषम परिस्थितिलाई ध्यानमा राख्दै ती देशहरूमा वैदेशिक रोजगारीका लागि जाने नेपाली कामदारहरूको श्रम स्वीकृति तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णयअनुसार सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्म व्यक्तिगत तथा संस्थागत दुवै प्रकारका श्रम स्वीकृति रोकिएको जनाएको छ।
मन्त्रालयका अनुसार साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायलका लागि श्रम स्वीकृति स्थगित गरिएको हो।
यस सम्बन्धमा मन्त्रालयले वैदेशिक रोजगार विभाग, ताहाचललाई पत्राचार गर्दै विभाग तथा अन्तर्गतका कार्यालयहरूबाट प्रदान गरिने सबै प्रकारका श्रम स्वीकृति तत्काल रोक्न निर्देशन दिएको छ।

मन्त्रालयले उक्त क्षेत्रमा विद्यमान असहज अवस्था तथा नेपाली कामदारहरूको सुरक्षालाई मध्यनजर गर्दै यो कदम चालिएको स्पष्ट पारेको छ। परिस्थितिमा सुधार आएपछि मात्र थप निर्णय लिइने जनाइएको छ।
सरकारको यो निर्णयसँगै खाडी तथा मध्यपूर्वी मुलुकमा रोजगारीका लागि जाने तयारीमा रहेका हजारौँ नेपाली कामदार प्रत्यक्ष रूपमा प्रभावित हुने भएका छन्।




















