तेहरान:= इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको इजरायल र अमेरिकाले गरेको सैन्य आक्रमणमा परी मृत्यु भएको छ । इरानको राज्य नियन्त्रित सञ्चार माध्यमहरू यसको पुष्टि गरेको छ । आधिकारिक पुष्टि भएसँगै इरान सरकारले देशभर सात दिन सार्वजनिक बिदा र ४० दिन राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ।
सरकारी वक्तव्यअनुसार देशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक निकायहरू सात दिन बन्द रहनेछन् । साथै ४० दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाइने र विभिन्न स्थानमा श्रद्धाञ्जली सभाहरू आयोजना गरिनेछ । शीर्ष नेतृत्वको निधनले मुलुकभर शोकको वातावरण छाएको जनाइएको छ ।
सञ्चार माध्यमहरूले उक्त आक्रमणलाई इजरायल र संयुक्त राज्य अमेरिकाको संयुक्त सैन्य कारबाहीको परिणाम बताएका छन् । पछिल्लो समय मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच आएको यो घटनाले क्षेत्रीय शक्ति सन्तुलन र सुरक्षाको अवस्थामाथि गम्भीर प्रश्न उठाएको छ ।
घटनापछि तेहरानसहित देशका प्रमुख सहरहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ। संवेदनशील स्थानहरूमा सुरक्षा निकायको उपस्थिति बढाइएको छ भने सीमाक्षेत्रमा पनि उच्च सतर्कता अपनाइएको बताइएको छ। अन्तर्राष्ट्रिय समुदायले घटनाक्रमलाई नजिकबाट नियालिरहेको छ र सम्भावित कूटनीतिक तथा सैन्य प्रभावबारे विश्लेषणहरू सुरु भएका छन् ।
यसअघि अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि खामेनीको मृत्युबारे सार्वजनिक अभिव्यक्ति दिएका थिए । तर घटनासम्बन्धी विस्तृत विवरण र स्वतन्त्र अन्तर्राष्ट्रिय पुष्टि भने अझै सार्वजनिक भएको छैन।
खामेनीको निधनसँगै इरानको भावी राजनीतिक नेतृत्व, उत्तराधिकार प्रक्रिया र क्षेत्रीय नीतिमा सम्भावित परिवर्तनबारे बहस तीव्र बनेको छ। सर्वोच्च पदमा रहेका व्यक्तिको अवसानले देशभित्र शक्ति सन्तुलन र नीतिगत दिशामा नयाँ मोड आउन सक्ने आकलन विश्लेषकहरूले गरेका छन्।




















