काठमाडौं:= रङ, उमंग र आपसी सद्भावको सन्देश बोकेको होली अर्थात् फागु पर्व आज (सोमबार) देशका पहाडी तथा हिमाली जिल्लाहरूमा धुमधामका साथ मनाइँदै छ । वसन्त ऋतुको आगमनसँगै मनाइने यस पर्वले नेपाली समाजमा मेलमिलाप, सहिष्णुता र एकताको भावना सुदृढ बनाउने विश्वास गरिन्छ । तराईका जिल्लाहरूमा भने परम्पराअनुसार भोलि (मंगलबार) होली मनाइनेछ ।
हिन्दू धर्मावलम्बीहरूका लागि महत्वपूर्ण मानिने फागु पर्व शक्तिको दुरुपयोग गर्ने दुष्ट प्रवृत्तिमाथि सत्य र भक्ति विजयी भएको स्मरणमा मनाइन्छ । त्रेतायुगमा दानवराज हिरण्यकश्यपुले आफ्ना छोरा भक्त प्रहृलादलाई मार्न बहिनी होलिकासहित आगोमा पठाएको किंवदन्ती यस पर्वसँग जोडिएको छ । भगवान् विष्णुको कृपाले प्रहृलादलाई आगोले केही नगरे पनि अग्निबाट नजल्ने वरदान पाएकी होलिका भने जलेर नष्ट भएको धार्मिक विश्वास छ । यही घटनाको प्रतीकस्वरूप पूर्णिमाको रात चीर दहन गरिन्छ ।
काठमाडौं उपत्यकामा फागुन शुक्ल अष्टमीका दिन हनुमानढोका दरबार क्षेत्रअन्तर्गत वसन्तपुर दरबार क्षेत्र अगाडि विधिवत् रूपमा चीर गाडिएसँगै फागु पर्वको औपचारिक सुरुवात भएको मानिन्छ । पूर्णिमाको रात उक्त चीर ढालेर दहन गरेपछि पर्व समापन हुने परम्परा छ । त्यस्तै, अष्टमीकै दिन भीमसेन मन्दिरमा राखिएको लिंगलाई टोल-टोल घुमाएर पूजा गर्ने र पुनः मन्दिरको पाटीमा स्थापित गर्ने चलनले उपत्यकाको सांस्कृतिक मौलिकता झल्काउँछ ।
केही वर्षअघिसम्म उपत्यकामा उच्छृंखल ढंगले मनाइने होली पछिल्लो समय भने सभ्य र मर्यादित बन्दै गएको देखिन्छ । प्रहरी प्रशासनको सक्रियता र जनचेतनाका कारण सडकमा हिँड्ने सर्वसाधारणमाथि इच्छाविपरीत रङ र लोला हान्ने प्रवृत्ति उल्लेख्य रूपमा घटेको छ । प्रशासनले पनि अमर्यादित तथा अवाञ्छित गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गर्दै सुरक्षित र मर्यादित रूपमा पर्व मनाउन अनुरोध गरेको छ ।
नेपालका विभिन्न जातजाति र समुदायले आफ्नै सांस्कृतिक विशेषतासहित मनाउने फागु पूर्णिमा, देशका साझा पर्वहरूमध्ये एक हो । पहाडी क्षेत्रमा पहिलो दिन र तराई क्षेत्रमा दोस्रो दिन मनाउने चलनले यसको भौगोलिक विविधता झल्काउँछ ।
फागुमा प्रयोग गरिने रङहरूको पनि आ-आफ्नै सांस्कृतिक अर्थ छ । नीलो रङलाई धर्मयुद्धको प्रतीक मानिन्छ भने पहेँलो रङ भगवान् विष्णु र श्रीकृष्णको प्रिय मानिन्छ । रातो रङ शक्ति र सौभाग्यको सूचकका रूपमा लिइन्छ भने भगवान् गणेशलाई सबै रङ प्रिय रहेको धार्मिक विश्वास छ । रङको टीका लगाउँदै, पानी छ्याप्दै र शुभकामना आदानप्रदान गर्दै मनाइने यो पर्वले समाजमा आपसी सद्भाव र एकता प्रगाढ बनाउने अपेक्षा गरिएको छ ।
फागु पर्वका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना सन्देश दिँदै शान्तिपूर्ण, सभ्य र सुरक्षित रूपमा पर्व मनाउन सबैमा आग्रह गरेका छन् । सरकारले यस अवसरमा सार्वजनिक बिदा दिएको छ । रङ र उमंगको यो पर्वले नेपाली समाजमा सकारात्मक ऊर्जा, आत्मीयता र भाइचाराको भावना थप सुदृढ बनाओस् भन्ने शुभकामनासहित देशभर फागुको उल्लास छाएको छ ।
सार्वजनिक स्थानमा होली खेल्नेलाई कारबाही
होली पर्वका अवसरमा अमर्यादित, उच्छृंखल तथा गैरकानुनी गतिविधि नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले सर्वसाधारणलाई आग्रह गरेको छ । प्रशासनले सार्वजनिक स्थानमा होली खेल्ने, होहल्ला गर्ने तथा भिडभाड गर्नेमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने जनाएको हो । सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार सार्वजनिक स्थानमा जुलुस निकाल्ने, मदिरा सेवन तथा बिक्रीवितरण गर्ने, जबरजस्ती रङ दल्ने, फोहोर पानी छ्याप्ने जस्ता गतिविधि नियन्त्रण गरिनेछ । यस्ता कार्यमा संलग्न पाइएमा कानुनी कारबाही गरिने उहाँले स्पष्ट पार्नुभयो ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन-२०८२ लाई लक्षित गर्दै लागू गरिएको निर्वाचन आचारसंहिता, २०८२ को परिच्छेद ४ को दफा १३(घ) अनुसार जुलुस वा आमसभामा सहभागी हुने तथा प्रचारप्रसारमा संलग्न व्यक्तिले राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न अंकित लोगो, स्टिकर, टिसर्ट, टोपी, झोला, गम्छालगायत सामग्री प्रयोग गर्न नपाइने व्यवस्था रहेको प्रशासनले स्मरण गराएको छ ।
यसैबीच, निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले होलीका कारण निर्वाचन प्रभावित नहुने बताउनुभएको छ । आइतबार आयोजित मौन अवधि तथा मिडिया अन्तरक्रिया कार्यक्रममा उहाँले तराईका जिल्लामा चुनावप्रति नागरिकको बुझाइ परिपक्व रहेको उल्लेख गर्नुभयो । ‘होलीले निर्वाचनलाई असर गर्दैन’, उहाँले भन्नुभयो, ‘तराईका जिल्लामा पनि चुनावको मुखमा होली अझ राम्रोसँग मनाउने तयारी रहेको छ ।’
केही वर्ष अघिसम्म उपत्यकामा अभद्र रूपमा मनाइने होली पर्व पछिल्लो समय प्रहरीको सक्रियताका कारण सभ्य बन्दै गएको जनाइएको छ । सडकमा आवश्यक कामले हिँड्ने व्यक्तिमाथि इच्छाविपरीत रङ दल्ने तथा लोला हान्ने जस्ता गतिविधि नियन्त्रणमा आएको प्रशासनले जनाएको छ ।




















