चलचित्र ‘मितज्यू’को फस्ट लुक पोस्टर सार्वजनिक, दयाहाङ, सौगात र तेरिया मगर।

काठमाडौं:= चलचित्र ‘मितज्यू’ को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले सार्वजनिक गरेको पोस्टरमा मुख्य कलाकारहरू दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरलाई प्रस्तुत गरिएको छ । सार्वजनिक पोस्टरले ग्रामीण परिवेश र सामाजिक द्वन्द्वको झल्को दिन्छ ।

पहाडी पृष्ठभूमिमा गुडिरहेको जिपअगाडि दयाहाङ राई र सौगात मल्लबीच शक्ति प्रदर्शन झल्किने शैलीमा पञ्जा जुधाइरहेको दृश्य देखिन्छ । जिपको बोनटमाथि परम्परागत पहिरनमा तेरिया फौजा मगर गम्भीर मुद्रामा बस्नुभएको छ । पोस्टरले पारिवारिक सम्बन्ध, अहंकार र सामाजिक टकरावको कथावस्तु संकेत गरेको अनुमान गर्न सकिन्छ ।

जिपको हुटमा कोशेलीका रूपमा सुँगुर, राडीपाखी र तरकारी राखिएको देखिन्छ भने छेउमा डोको र गाग्री पनि छन् । यसले पात्रहरू बसाइँ सरेको सन्दर्भ वा ग्रामीण जीवनशैलीसँग सम्बन्धित कथावस्तुको संकेत गरेको बुझिन्छ । पोस्टरमा प्रस्तुत तीन पात्रबीचको द्वन्द्व र तेरियाको विरक्त मुद्राले दर्शकमाझ कौतुहल सिर्जना गरेको छ ।

निर्देशक अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको यस चलचित्रमा दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरसहित पुष्कर गुरुङ, शिशिर बाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायतका कलाकारको अभिनय छ ।

यसै चलचित्रमार्फत् तेरिया मगरले अभिनेत्रीका रूपमा डेब्यु गर्नुभएको हो । जनक घर्ती मगरको लगानीमा जिएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रका सम्पादक लोकश बज्राचार्य र छायाकार शिशिर विशंखे हुनुहुन्छ। चलचित्रमा द्वन्द्व निर्देशन प्रभात विष्टले गर्नुभएको छ भने साउण्ड डिजाइन नवीन श्रेष्ठको छ ।

संगीत श्रीकृष्ण बम मल्लको छ भने गीतमा संगीतकार मल्लसँगै मेलिना राई र लक्ष्मी मल्लको स्वर छ। कोरियोग्राफी मिङ्मा लेप्चाले गर्नुभएको छ । आरआर फिल्मस्द्वारा वितरण हुने ‘मितज्यू’ आउँदो जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।