क्वालालम्पुरमा नक्कली भिसा बनाउने गिरोहको भण्डाफोर, दम्पतीलाई ४५ महिना जेल र जरिवाना।

क्वालालम्पुर (मलेसिया):= मलेसियाको संघीय क्षेत्र क्वालालम्पुर अध्यागमन विभागले “डेभिड लरेन्स” नामक अन्तर्राष्ट्रिय भिसा नक्कलीकरण गिरोहलाई भण्डाफोर गर्दै एक बंगलादेशी दम्पतीलाई पक्राउ गरेको छ।

उप–निर्देशक मरीना हाबिबोनका अनुसार फेब्रुअरी १० मा सुंगाइ बेसीस्थित एक आवासमा गरिएको छापामारीका क्रममा ३० वर्ष उमेर समूहका बंगलादेशी श्रीमान–श्रीमतीलाई पक्राउ गरिएको हो। उक्त गिरोह विगत आठ महिनादेखि सक्रिय रहेको र युरोपका लागि नक्कली भिसा तयार गरी प्रतिदस्तावेज आरएम २०,००० सम्म असुल्ने गरेको पाइएको छ।

अनुसन्धानअनुसार गिरोहले बंगलादेशस्थित ग्राहकका लागि नक्कली अन्तर्राष्ट्रिय भिसा तयार पार्ने, ती कागजात अन्तर्राष्ट्रिय कुरियरमार्फत मलेसिया पठाउने र यहाँ थप छेडछाड गरी युरोप यात्रा प्रयोजनका लागि प्रयोग गर्ने गरेको खुलेको छ। छापामारीका क्रममा राहदानी, नक्कली विदेशी छाप, शंकास्पद अध्यागमन स्लिप, मोबाइल फोन, ल्यापटप तथा अन्य उपकरण बरामद गरिएको जनाइएको छ।

पक्राउ परेका दम्पतीलाई सोमबार कुआलालम्पुर अदालतमा पेश गरिएको थियो। उनीहरूले नौवटा अभियोग स्वीकार गरेपछि अदालतले कुल आरएम १ लाख १२ हजार जरिवाना तोकेको थियो। जरिवाना तिर्न नसकेपछि उनीहरूलाई ४५ महिनाको कैद सजाय सुनाइएको छ। सजाय पूरा गरेपछि उनीहरूलाई देशनिकाला गरी भविष्यमा मलेसिया प्रवेशमा स्थायी प्रतिबन्ध लगाइने जनाइएको छ। – बर्नामा