काठमाडौं := नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सर्लाही-४ बाट प्रतिनिधि सभाको निर्वाचन हराउन कांग्रेस नेता शेखर कोइराला सक्रिय भएको अडियो बाहिर आएको छ। मोरङ-६ मा प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका कांग्रेसका नेता शेखर कोइरालाले सभापति थापालाई हराउनका लागि कांग्रेस कार्यकर्ता परिचालन गरेको भेटिएको हो ।
कांग्रेस सभापति थापालाई हराएर सर्लाही–४का रास्वपा उम्मेदवार अमरेश कुमार सिंहलाई विजयी गराउनका लागि कोइरालाले आफ्ना स्वकीय सचिव दिनेशचन्द्र थपलियामार्फत भूमिका खेलेको आरोप लागेको छ । थापालाई हराउन कोइरालाले धनुषा ढल्केबरका सिंह थरका एक कांग्रेस कार्यकर्तालाई सर्लाही ४मा खटाएको अडियोबाट बुझ्न सकिन्छ ।
कांग्रेसको १४ औँ महाधिवेशनमा एउटै समूहबाट कोइराला र थापा सभापति र महामन्त्री लडेका थिए । पछिल्लो समय कोइराला र थापाबिच दुरी बढेको थियो । कोइराला नियमित महाधिवेशनको पक्षमा रहेपछि तत्कालीन महामन्त्रीद्वय थापा र विश्व प्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नेतृत्व हत्याएपछि कोइराला असन्तुष्ट बनेका थिए । सभापति हुने दौडमा रहेका कोइराला अन्तिम समयमा विशेष महाधिवेशनको विपक्षमा उभिएर तत्कालीन सभापति शेरबहादुर देउवाको पक्षमा लागेका थिए ।
निर्वाचन आयोगले कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिएपछि देउवा पक्ष अदालत गए पनि तत्काल सनुवाइ नहुँदा कोइरालाले सभापति गगन थापाले हस्ताक्षर गरेको टिकट लिएर मोरङ क्षेत्र नं ६बाट प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बनेका छन् ।
कांग्रेस केन्द्रीय समितिले सभापति थापालाई भावी प्रधानमन्त्री भनेर निर्णय गरेको छ । सभापति थापालाई सर्लाही- ४ मा हराउन पाए आफू संसदीय दलको नेता बन्न सक्ने आशा र पार्टी भित्र पनि पकड बनाउन सकिने अभिष्टले कोइरालाले यो षड्यन्त्र रचेको हुनसक्ने संस्थापन पक्षको आशंका छ ।
सर्लाहीका एक कांग्रेस कार्यकर्ताका अनुसार शेखरले गगनलाई हराउनका लागि पूर्व प्रदेश सांसद उपेन्द्र कुशहवालाई मिलाउन सकिन्छ भन्ने भ्रममा मान्छे खटाएको देखिन्छ । तर लामो समय कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा निकट रहेका उपेन्द्र पछिल्लो समय कांग्रेस सभापति थापासँग निकट रहेको मात्र नभई उनको चुनाव नै हाँकिरहेका छन् । यो चाल नपाएका कोइरालाका स्वकीय सचिव थपलियाले कुशुहवालाई अमरेशको पक्षमा ल्याएर गगनलाई हराउन परिचालन गर्ने रणनीति बनाएको हुन सक्ने अडियो सम्बादमा सुनिन्छ ।
अडियोमा परिचालित व्यक्तिले उपेन्द्रलाई मिलाएको पैसा कसले दिन्छ भनेर शेखरका स्वकीय सचिव दिनेशलाई टेलिफोनमा सोधेका छन् । त्यसको प्रतिउत्तरमा दिनेशले अमरेशले दिन्छ भनेको अडियोमा प्रस्ट सुन्न सकिन्छ ।
सिंह थरका ती व्यक्ति सर्लाही ४ को धनकौलमा आएर अस्वाभाविक गतिविधि गरेको भेटिएपछि कांग्रेसका स्थानीय कार्यकर्ताले उनलाई नियन्त्रणमा लिएका थिए । कांग्रेस कार्यकर्ताले नियन्त्रणमा लिएका ती व्यक्तिले शेखरले गगनलाई हराउनका लागि आफूलाई खटाएको स्वीकार गरेको सर्लाहीका एक कांग्रेस कार्यकर्ताले बताए । ती व्यक्तिलाई नियन्त्रणमा लिएपछि अडियो बाहिर आएको हो ।
- कांग्रेस नेता शेखरका स्वकीय सचिव दिनेश र सिंहको अडियो संवाद यस्तो छ
सिंह– दिनेशजी जय नेपाल । सुन्नुहोस् न । म यहाँ सर्लाही ४मा छु । म यहाँ अमेरेसको लागि उपेन्द्रजीकोमा गएको थिएँ । यहाँ गगन दाईले एकदुई हजार, दुई तीन हजार मतले जित्नु हुन्छ ।
दिनेश– गगनले ?
सिंह –उपेन्द्र कुशवाहा मिलेपछि त्यो पैसा कसले दिने ?
दिनेश–केरे केरे ?
सिंह–उपेन्द्र मिलेपछि त्यो पैसा कसले दिन्छ ?
दिनेश– अ अ (अक्मकिए जस्तो) अमरेशले।
सिंह –ल ठिक छ राखम् ।
बदल्यौँ कांग्रेस, बदल्छौं देश भन्ने नारा दिएर कांग्रेसबाट प्रधानमन्त्रीको को रूपमा चुनावमा होमिएका थापालाई हराउन सके आफू राजनीतिमा पुनर्उदय हुनका लागि कोइरालाले यस्तो खेल खेलेको हुनसक्ने सर्लाहीका एक कांग्रेस कार्यकर्ताले बताए । ‘सभापतिज्यूलाई जिताउन सर्लाहीका कांग्रेसहरु एकजुट भएको बेला शेखर दाईले हराउनका लागि मान्छे परिचालित गरेको पाएपछि नियन्त्रणमा लियौं,’ ती कार्यकर्ताले भने, ‘समातेर सोधपुछ गर्दा पैसा लिएर परिचालित भएको पायौं ।’ ती कार्यकर्ताका अनुसार मोबाइल फोन चेक गर्दा ती व्यक्तिले शेखर कोइरालाका स्वकीय सचिव थपलिया र रास्वपाका उम्मेदवार अमरेश सिंहसँग नियमित टेलिफोन संवाद भएको कल डिटेल भेटिएको छ ।
कांग्रेस केन्द्रीय समितिले थापालाई प्रधानमन्त्रीका रूपमा घोषणा गरेर निर्वाचनमा होमिएपछि कोइरालाले कांग्रेसको संसदीय अभ्यास बिपरित प्रधानमन्त्रीका रूपमा अघि सारेको भन्दै सञ्चार माध्यममा असन्तुष्टी पोखेका थिए ।
यस अघिको निर्वाचनमा स्वतन्त्र रूपमा प्रतिनिधि सभाको निर्वाचन जितेका अमरेशले गगन थापाका विरुद्ध अभिव्यक्ति दिँदै आएका थिए भने शेखरको पक्षमा नरम बोल्दै आएका थिए । स्रोतका अनुसार कोइराला र सिंहबीच सुमधुर सम्बन्ध रहेको बताइन्छ । निर्वाचन घोषणा भएपछि कोइराला र अमरेशबिच भेट भएको स्रोतको दाबी छ ।
समाचार स्रोत : रातोपाटी अनलाइन मिडिया ।




















