रास्वपा जिल्ला सभापति महेन्द्र सेन ठकुरी नेपाली कांग्रेसमा प्रवेश।

नवलपरासी := राष्ट्रिय स्वतन्त्र पार्टी पश्चिम नवलपरासीका जिल्ला सभापति महेन्द्र सेन ठकुरी नेपाली कांग्रेस प्रवेश गरेका छन। रास्वपाका जिल्ला सभापति ठकुरी पार्टीभित्रको आन्तरिक असन्तुष्टिका बीच नेपाली कांग्रेसमा प्रवेश गरेका छन।

नेपाली कांग्रेस नवलपरासीले बिहीबा क्षेत्र नम्बर १ मा आयोजना गरेको चुनावी सभामा ठकुरीलाई कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा र क्षेत्र नम्बर १ का उम्मेद्वार विनोदकुमार चौधरीले पार्टी प्रवेश गराएका हुन्।

चुनावी सभामा बोल्दै ठकुरीले जिल्लामा आफूहरूले मेहनत पूर्वक गरेको संगठनलाई भताभुङ्ग पार्ने गरी अन्तिम समयमा अन्य दलबाट आएका व्यक्तिलाई टिकट दिएर कार्यकर्ताको मानमर्दन गरेको बताए। रास्वपाले जिल्लाका दुई वटै निर्वाचन क्षेत्रमा कांग्रेसबाट आएकालाई उम्मेद्वार बनाएपछि रास्वपामा असन्तुष्टि छ।

‘दुई वटा निर्वाचन क्षेत्रमा पार्टीले सिफारिस गरेका नेतालाई टिकट नदिई आर्थिक चलखेलमा कांग्रेसबाट आएकालाई टिकट दिइयो। यसले सबै साथीको मानमर्दन भएको महशुस गरी पार्टी छाड्ने कठोर निर्णय गरेको हुँ,’ ठकुरीले भने।

आफूलाई टिकट दिने भनेर अन्तिम समयको राति ११ बजेसम्म कुराएर आर्थिक चलखेल गरी अपारदर्शी रूपमा अरूलाई टिकट दिएको उनको आरोप थियो। ठकुरी रास्वपाका संस्थापक जिल्ला सभापति थिए।

२०७९ को निर्वाचनमा रास्वपाबाट क्षेत्र नम्बर १ मा उनी चुनाव लडेका थिए। नेपाली कांग्रेसका विनोद चौधरी र तत्कालीन जनता प्रगतिशील पार्टीका ह्रदयश त्रिपाठीसँग प्रतिस्पर्धामा रहेका ठकुरीले १२ हजार ४९९ मत ल्याएका थिए।

केहि दिन अगाडि मात्र महेन्द्रका दाइ समेत रहेका रास्वपा नवलपरासी सुस्ता उप-सभापति गुप्त सेन ठकुरीले पनि पार्टी परित्याग गरेका थिए। उनको कांग्रेस प्रवेशसँगै जिल्लाको राजनीतिक समीकरणमा नयाँ बहस सुरु भएको छ।