काठमाडौं := नेपाल सरकारले प्रतियोगिता जितेपछि तामझामका साथ पुरस्कार घोषणा गर्ने तर लामो समयसम्म वितरण नगर्ने प्रवृत्तिले खेलाडीहरू असन्तुष्ट बनेका छन् । खेलकुद विकास नियमावलीअनुसार विश्वकपमा छनोट हुने खेलाडीलाई पुरस्कार दिने व्यवस्था छ ।
गत अक्टोबरमा ओमानमा भएको छनोट चरण जितेर टी–२० विश्वकपमा पुगेको नेपाली क्रिकेट टोलीका खेलाडीले जनही १९ लाख ५० हजार रुपैयाँ पाउनुपर्ने थियो । तर, टोलीले विश्वकप खेलिसक्दा पनि घोषित रकम पाएको छैन । राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले टी-२० विश्वकप खेल्न जानुअघि नै घोषणा गरिएको रकम चार महिनासम्म नपाएको गुनासो गर्नुभएको थियो ।
यस्तै, २०७९ सालमा घरेलु मैदानमा भएको साफ महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोलीलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जनही ३ लाख रुपैयाँ दिने घोषणा गर्नुभएको थियो । तर, तीन वर्षभन्दा बढी समय बित्दा पनि खेलाडीले रकम पाएका छैनन् । गत वर्ष भारतमा भएको खो-खो विश्वकपमा उपविजेता बनेका पुरुष र महिला टोलीले पनि १३ महिनासम्म पुरस्कार नपाएको जनाएको छ ।
सबै प्रक्रिया पूरा गरी नौ महिनाअघि नै कागजात बुझाइसक्दा पनि रकम निकासा भएको छैन। राष्ट्रिय खेलकुद परिषद्का अनुसार हाल १६ करोड रुपैयाँभन्दा बढी पुरस्कार वितरण गर्न बाँकी छ । मन्त्रालयबाट चार करोड मात्र बजेट विनियोजन भएकाले ढिलाइ भएको राखेपले जनाएको छ । युवा तथा खेलकुद मन्त्रालयले भने सीमित बजेट र अर्थ मन्त्रालयको सहमतिका कारण प्रक्रिया ढिलो हुने गरेको जनाएको छ ।




















