[ मिलन दोङ तामाङ ]
क्वालालम्पुर (मलेसिया):= मलेसियाको पेनाङ राज्यमा बिरामी र असहाय अवस्थामा रहेका स्याङ्जा जिल्ला मल्याङकोट निवासी झल बहादुर ठडामगरको उद्धार कार्य नेपाली जनसम्पर्क समिति मलेसिया र नेपाली दूतावास मलेसियाको सक्रिय पहलमा सफलतापूर्वक सम्पन्न भएको छ।
विगत ८ वर्षदेखि अवैध रूपमा पेनाङमा बस्दै आएका ठडामगर केही समयअघि गम्भीर रूपमा बिरामी भई हिँडडुल तथा बोल्नसमेत नसक्ने अवस्थामा पुगेका थिए। पेनाङस्थित नेपाली समुदायका सदस्यहरूको प्रारम्भिक जानकारीपछि नेपाली जनसम्पर्क समिति मलेसियाले तुरुन्तै पहल थालेको थियो।
नेपाली जनसम्पर्क समिति मलेसियाका सभापति चोलाकान्त पंगेनी ज्युको विशेष पहल, समन्वय र आर्थिक सहयोगमा बिरामीलाई क्वालालम्पुर ल्याई दूतावाससँग औपचारिक प्रक्रिया अघि बढाइएको थियो।
यसैगरी, नेपाली दुतावास मलेसियाले आवश्यक कागजात तयारी, कानुनी प्रक्रिया र स्वदेश फिर्ता व्यवस्थापनमा तदारुकताका साथ सहयोग पुर्याएको र जनसम्पर्क समिति मलेसियाले टिकट उपलब्ध गराएको जनाएको छ। जनसम्पर्क समितिको पहल र दूतावासको सहजीकरणपछि उद्धार प्रक्रिया शीघ्र रूपमा टुंग्याई बिरामीलाई सकुशल नेपाल पठाउन सफल भएको हो।
सामाजिक उत्तरदायित्व र मानवीय सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै सम्पन्न गरिएको यस उद्धार कार्यप्रति समुदायले सकारात्मक प्रतिक्रिया व्यक्त गरेको छ। स्वदेश फर्काइएका ठडामगरलाई जनसम्पर्क समिति मलेसियाका सभापति चोलाकान्त पंगेनी ज्युले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर परिवारको जिम्मा लगाइए घर जनालाई सहजीकरण समेत गरेको थियोे।
मानवीय सेवामा निरन्तर क्रियाशील नेपाली जनसम्पर्क समिति मलेसिया र नेपाली दूतावास मलेसियाको सक्रिय समन्वयलाई प्रवासी नेपालीहरूले सराहना गरेका छन्।




















