एन्फा र सरकारले सहयोग नगरेपछि महिला फुटबल कप्तानको हरिबिजोग।

काठमाडौं := खेलाडी केवल मैदानमा आफ्नो खेल कौशल देखाउने कलाकार मात्रै हुँदैनन्, उनीहरू देशको पहिचान बोक्ने दूत पनि हुन् । फुटबलमा गोल हुँदा फहराउने झण्डा, बज्ने राष्ट्रगान र रंगशालामा गुञ्जिने ‘नेपाल-नेपाल’ले नेपालीलाई एउटै सूत्रमा बाँध्छ । तर, विडम्बना, त्यही देश चिनाउने खेलाडी आफैँलाई समस्या पर्दा भने राज्यबाट सहयोग पाउँदैन र सार्वजनिक याचना गर्न बाध्य हुन्छ ।

नेपालको जर्सी लगाएर अन्तर्राष्ट्रिय मैदानमा गोल वर्षा गर्ने दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकरमध्ये एक सावित्रा भण्डारी ‘साम्बा’ अहिले मैदानमा छैनन् । राष्ट्रिय टोलीकी कप्तानलाई अहिले घुँडाको गम्भीर चोट बोकेर उपचारको खोजीमा भौतारिनुपरेको छ । उहाँको घुँडाको गम्भीर चोटका कारण पुनः जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था आएको छ । जीवनकै कठिन मोडमा उभिएर उहाँले समर्थकसँग आर्थिक सहयोगको हात फैलाउनुपरेको छ ।

उहाँले सामाजिक सञ्जालमार्फत उपचारका लागि आर्थिक सहयोगको अपिल गर्नुभएको हो । ‘म पछिल्लो ७ हप्तादेखि चोटका कारण मैदानबाहिर छु । सोचेजस्तो हुन्थ्यो भने अहिले म चोटको शल्यक्रिया गरेर फिजियो सुरु गरेको केही समय बितिसक्ने थियो । तर, अझै पनि म उपचारको लागि भौतारिएको छु,’ उहाँले लेख्नुभएको छ, ‘मेरो घुँडाको एसिएलमा यसअघि शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेको छ । यसका लागि मैले पुनः जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको छ ।’

युरोपसम्म पुगेर खेल्नुभएकी र राष्ट्रिय टोलीको नेतृत्व गरिरहनु भएकी खेलाडीले नै उपचारका लागि सार्वजनिक रूपमा सहयोग माग्नुपर्ने अवस्था आउनु विडम्बनापूर्ण रहेको उहाँको भनाइ छ । ‘म राष्ट्रिय टोलीको कप्तान, जो युरोपमा पुगेर खेलेको छु, मैले यो परिस्थितिको सामना गर्नुपर्छ भने सोच्नुहोस् अरूको अवस्था के होला ?’ उहाँको प्रश्न छ । साम्बा केवल गोलकर्ता मात्रै होइन, नेपाली महिला फुटबलको प्रतीक हो । फ्रान्सको शीर्ष डिभिजनबाट दुई सिजन खेलेर उहाँ युरोपको उच्च लिग खेल्ने पहिलो नेपाली खेलाडी हो ।

इजरायलको शीर्ष डिभिजनबाट खेलिसक्नु भएकी उहाँले भारतको लिगमा पनि उपाधि दिलाउँदै गोलको कीर्तिमान बनाउनुभएको थियो । इजरायल होस् या फ्रान्स, अष्ट्रेलिया होस् या न्युजिल्याण्ड उहाँले सधैँ नेपाललाई चिनाउने काम गर्नुभयो । नेपाली खेलकुदको यो प्रतिनिधि घटना मात्रै हो । जीविकोपार्जनमै समस्या भएपछि धेरै प्रतिभावान् खेलाडी विदेश पलायन भएका छन् ।

एन्फाले सहयोग गरेन !

साम्बाको घुँडामा यसअघि गरिएको एसिएल शल्यक्रियाबाट राखिएको ग्राफ्ट र एमसिएल (मेडियल कोलेटरल लिगामेन्ट) दुवैमा गम्भीर क्षति पुगेको चिकित्सकले बताएका छन् । त्यसको पुनः जटिल शल्यक्रिया गर्नुपर्ने भएको छ । प्रारम्भिक अनुमानअनुसार उपचारका लागि करिब ८० हजार अमेरिकी डलर (एक करोड बढी नेपाली रुपैयाँ) खर्च हुने बताइएको छ। शल्यक्रिया मात्र होइन, त्यसपछि पुनःस्थापना (रिह्याबिलिटेसन) पनि अनिवार्य छ । ‘सोचेझैँ भएको भए म अहिले शल्यक्रिया गरेर रिह्याब सुरु गरिसकेको हुन्थेँ,’ उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘तर अझै पनि उपचारका लागि भौतारिइरहेकी छु ।’

यसअघि यस्तै चोटका बेला अखिल नेपाल फुटबल संघ (एन्फा)को पहलमा उहाँको उपचार व्यवस्थापन गरिएको थियो । आर्थिक र मानसिक रूपमा निश्चिन्त भएर उहाँले खेलमा पुनरागमन गर्नुभएको थियो । तर, यसपटक अवस्था फरक छ । चोट लागेको तीन सातापछि क्लबको पहलमा शल्यक्रियाको मिति तय भए पनि एन्फाले आफ्नै तर्फबाट पहल गर्ने भन्दै प्रक्रिया अघि नबढाएको उहाँको गुनासो छ । पटक-पटक सम्पर्क गर्दा पनि स्पष्टता नपाएको उहाँले बताउनुभयो । अघिल्लो साता एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिँदै अधिकतम् पाँच लाख रुपैयाँ नगद सहयोग गर्ने प्रस्ताव राखेको उहाँले जानकारी दिनुभयो ।

‘पछिल्लोपटक एन्फा नेतृत्वको पहलमा मेरो उपचारमा सम्पूर्ण व्यवस्थापन र सहयोग भएको थियो । त्यसबेला आर्थिक र मानसिक रूपमा मलाई कुनै समस्या थिएन, जसकारण मैले समयमा पुनरागमन गर्दै मैदान फर्कन सकेँ । तर, यसपटक एन्फा नेतृत्वबाट वाचा गरेको सहयोग पनि पाइएन । चोट लागेको ३ सातापछिको लागि क्लबको पहलमा शल्यक्रिया मिति तोकिएको भए पनि एन्फाले आफ्नो तर्फबाट प्रयास गर्ने बतायो । तर सोअनुसार एन्फाबाट प्रक्रिया अघि बढेन,’ उहाँले भन्नुभएको छ, ‘मैले पटक-पटक प्रयास गर्दा पनि उहाँहरूलाई सम्पर्क गर्न कठिन भयो । अघिल्लो साता एन्फा अध्यक्ष आफैँले मेरो उपचारमा एन्फाबाट प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिनुभयो । उहाँले नगद ५ लाखसम्म सहयोग गर्ने र अन्य प्रक्रिया आफैँ गर्न भन्नुभयो । एक त मैले यसअघि चालेको प्रक्रिया रोकियो, अर्कोतर्फ मैले झण्डै २ महिनापछि मात्र शल्यक्रिया मितिको लागि फेरि प्रयास गर्नुपर्ने भएको छ ।’

अस्पेटारमै उपचार गराउने इच्छा

हाल उहाँ न्युजिल्याण्डको क्लब वेलिङ्टन फिनिक्समा आबद्ध हुनुहुन्छ । क्लब स्थानीय अस्पतालमै उपचार गराउन तयार छ। बीमाबाट प्राप्त रकम उपलब्ध गराउने प्रतिबद्धता पनि छ । तर, साम्बाको चाहना कतारस्थित अस्पेटारमा उपचार गराउने हो । जहाँ उहाँले अघिल्लोपटक उच्चस्तरीय उपचार पाउनुभएको थियो । ‘मेरो चोट गम्भीर छ । पछिल्लो अनुभवका आधारमा त्यहीँ उपचार गराउन चाहन्छु,’ उहाँले भन्नुभएको छ । बीमाबाट आउने रकमले सबै खर्च नधान्ने भएपछि समर्थकमाझ सहयोग माग्न बाध्य भएको उहाँको भनाइ छ ।

निको भएर पुनः मैदान फर्किने अठोट

साम्बाले चोटले आफूलाई शारीरिक र मानसिक रूपमा थकाए पनि नहारेको उल्लेख गर्नुभएको छ । लामो समय मैदानबाहिर रहनु, उपचारको अनिश्चितता र आर्थिक दबाबले कमजोर बनाए पनि आत्मविश्वास भने अझै अडिग रहेको उहाँको भनाइ छ । ‘चोटले मलाई शारीरिक र मानसिक रूपमा थकाएको छ तर मलाई विश्वास छ म फर्कनेछु । थाकेको हो, हारेको छैन,’ उहाँले लेख्नुभएको छ । उपचारपछि निको भएर पुनः मैदानमा फर्किने उहाँको अठोट छ । ‘म बाहिर रहेकाले सरकारसमक्ष पनि मेरो प्रतिनिधित्व गर्दै उपचारका लागि सहयोगको प्रयास भएका छन् ।

तर, सरकारी प्रक्रिया अपेक्षा गरेअनुसार अघि बढ्न नसक्दा मैले शल्यक्रिया नगरी भरगर्ने स्थिति रहेको छैन,’ उहाँले लेख्नुभएको छ, ‘मैले आफ्नो करियरमा सधैँ कठिनाइहरूको सामना गर्नुपरेको छ र हरेकपटक साहसका साथ त्यसलाई पार गरेको छु । यसपटक पुनः माथि उठ्न तपाईंको सहयोगको आवश्यकता परेको छ,’ उहाँले भन्नुभएको छ, ‘मेरो लागि यो आफ्नो करियरको सबैभन्दा कठिन लडाइँ भएको छ। मैले यो अवस्था आउला भन्ने सोचेको पनि थिइनँ । मैले देशको लागि सधैँ शतप्रतिशत दिएको छु र आउने दिनमा पनि देशको लागि खेल्न तत्पर छु ।’

समाचार स्रोत : डिबी शर्मा/ हिमालय टाईम्स पत्रीका