काठमाडौं:= यस वर्ष नेपाली चलचित्र उद्योगले बक्स अफिसमा उल्लेखनीय सफलता हात पारेको छ । चारवटा नेपाली चलचित्रले दश करोड रुपैयाँभन्दा बढी ग्रस कमाइ गर्दै व्यावसायिक सफलताको नयाँ अध्याय कोरेका छन् । चलचित्र ‘ऊनको स्वीटर’, ‘जेरी अन टप’, ‘परान’ र ‘आबाट आमा’ले उक्त आँकडा पार गरेका हुन् ।
गत वैशाखमा प्रदर्शनमा आएको ‘ऊनको स्वीटर’ले ११ करोड ४१ लाख रुपैयाँ ग्रस कमाइ गर्दै वर्षको सफल सुरुवात गरेको थियो । विपिन कार्की र मिरुना मगर अभिनित तथा नवीन चौहान निर्देशित यो चलचित्रले हलमा मात्रै होइन, युट्युब प्रदर्शनपछि पनि दर्शकको उत्तिकै साथ पाएको छ । पारिवारिक भावनालाई सरल ढंगले प्रस्तुत गरिएको यस चलचित्रले शहरदेखि गाउँसम्म समान लोकप्रियता बटुल्न सफल भयो ।
असोजमा रिलिज भएको सुयोग गुरुङ निर्देशित चलचित्र ‘जेरी अन टप’ले १२ करोड २५ लाख रुपैयाँभन्दा बढीको ग्रस कमाइ गर्दै आफूलाई सफल चलचित्रको सूचीमा उभ्यायो । अनमोल केसी, जसिता गुरुङ र आँचल शर्मा अभिनित यो चलचित्र युवापुस्तामाझ विशेष रुचाइएको थियो । रोमान्स र मनोरञ्जनको संयोजनले चलचित्रलाई व्यावसायिक उचाइमा पुर्यायो ।
यस्तै, कात्तिकमा प्रदर्शनमा आएको दीपक आचार्य निर्देशित चलचित्र ‘परान’ यस वर्षकै सर्वाधिक कमाइ गर्ने फिल्म बन्न सफल भयो । नीर शाह अभिनित यस चलचित्रले १७ करोड ८४ लाख रुपैयाँ ग्रस कमाइ गर्दै कीर्तिमान बनाएको छ । ६ लाख ३३ हजारभन्दा बढी टिकट बिक्री हुनु यस चलचित्रको लोकप्रियताको सूचक बनेको छ । कथावस्तु, अभिनय र प्रस्तुतीकरणले दर्शकलाई हलसम्म तान्न सफल भयो ।
यसैबीच, माघ १६ गतेदेखि प्रदर्शनमा आएको चन्द्र पन्त निर्देशित ‘आबाट आमा’ले पनि १० करोड रुपैयाँभन्दा बढी ग्रस कमाइ गर्दै चार सफल चलचित्रको सूचीमा आफ्नो नाम लेखाएको छ । पल शाह, विपना थापा, प्रदीप रावतलगायत कलाकार अभिनित यस चलचित्रले प्रारम्भिक दिनमा आठ करोड ३१ लाख रुपैयाँ कमाएको थियो भने गत बुधबार बेलुकासम्म १० करोड लाख लाख रुपैयाँ ग्रस कमाइ पुगेको निर्माण पक्षले जनाएको छ । यो चलचित्र हाल चौथो सातामा प्रदर्शनरत छ । आधिकारिक बक्स अफिस तथ्यांक भने सोमबार सार्वजनिक हुने जनाइएको छ ।
यसवर्षको उपलब्धिले नेपाली चलचित्र बजार विस्तार हुँदैगएको संकेत गरेको छ । विविध कथावस्तु, स्टार शक्ति र दर्शकको बढ्दो सहभागिताले नेपाली सिनेमा व्यावसायिक हिसाबले पनि सुदृढ बन्दै गएको देखिएको छ । दश करोड क्लब अब अपवाद होइन, सम्भावनाको नयाँ मानक बन्न थालेको संकेत यी चलचित्रले दिएका छन् ।




















