काठमाडौं := देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लहर (ह्विम) आएको चर्चा परिचर्चा भइरहेको बेला निर्वाचनको मुखैमा संस्थापक नेताहरूले एकपछि अर्को गरी पार्टी छाड्ने क्रम तीव्र बनेको छ । ‘जान्नेलाई छान्ने’ र ‘सुशासन’ को नारा दिएर २०७९ सालको आमनिर्वाचनबाट उदाएको रास्वपा अहिले आफैँभित्र ठूलो विग्रहको भुमरीमा फसेको हो ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो पार्टी बन्ने दाबी गरिरहेकै बेला प्रभावशाली नेताहरूले नेतृत्वमाथि आर्थिक अपचलनको आरोप लगाउँदै धमाधम पार्टी छोड्न थालेका छन् । निर्वाचनको टिकट वितरणमा चरम आर्थिक चलखेल, अपारदर्शिता र स्वेच्छाचारिताको आरोप सार्वजनिक भएपछि वैकल्पिक राजनीतिको नैतिक धरातलमै प्रश्न उठ्न थालेको छ ।
चुनावको मुखमा पार्टीभित्र जन्मिएको यस्तो विग्रहले देशको पहिलो शक्ति बनेर सरकारको नेतृत्व गर्ने सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन साहको योजनामा धक्का लाग्नसक्ने विश्लेषण हुन थालेको छ । आसन्न प्रतिनिधिसभा निर्वाचनपछि रास्वपा देशको पहिलो शक्ति बन्ने र वरिष्ठ नेता बालेनले सरकारको नेतृत्व गर्ने भन्दै रास्वपाले ब्राण्डिङ गरिरहेको छ । यही लक्ष्यसहित रास्वपा चुनावी म्याराथनमा व्यस्त छ । चुनावी प्रचारमा उत्साह देखिए पनि रास्वपाको सांगठनिक संरचना भने धर्मराउन थालेको छ ।
पछिल्लो पटक बागमती प्रदेश उपसभापति दिनेश हुमागाईंले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिनुभएको छ । गत निर्वाचनमा काभ्रे–२ बाट उल्लेख्य मत ल्याउनुभएका हुमागाईंको बहिर्गमनले रास्वपाको प्रादेशिक संरचनामा ठूलो धक्का पुग्ने आशंका गरिएको छ । हुमागाईंले १० हजारबढी भोट ल्याउनुभएको थियो । दुई-चार दिन अगाडिसम्म मोबाइल पसलमा काम गरिरहेका, गीत गाइरहेका, सामाजिक अभियन्ता भनेर हिँडिरहेका, चटकदारहरूलाई स्वार्थको आधारमा उम्मेदवार बनाइएको उहाँको टिप्पणी छ ।
रास्वपाको सांगठनिक संरचनामा गइरहेको पछिल्लो पहिरो बागमतीमा मात्रै सीमित छैन । यसअघि नै मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्मा र प्रभावशाली नेतृ खेमकुमारी भुर्तेल (उर्मिला) ले नेतृत्वको कार्यशैली र टिकट वितरणमा भएको मनोमानीप्रति चर्को आलोचना गर्दै पार्टी परित्याग गर्नुभएको छ । भुर्तेल ०७९ मा रास्वपाको तर्फबाट उम्मेदवार बन्नुभएको थियो । भुर्तेलले आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरू प्रेरित भएकोले आफ्नो आत्मसम्मान र राजनीतिक मूल्यमाथि आँच आउने परिस्थिति बनेकाले पार्टी परित्याग गरेको बताउनुभएको छ ।
गत बिहीबार काठमाडौं-५ मा रास्वपाको तर्फबाट अघिल्लो निर्वाचनमा उम्मेदवार बन्नुभएका डा. प्रणय शमशेर राणाले पनि पार्टी परित्याग गर्नुभएको छ । अघिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनमा राणाले काठमाडौं ५ मा पाँच हजार ४७७ मत प्राप्त गर्नुभएको थियो । राणा सभापति रवि लामिछानेका विश्वास पात्रको रूपमा चिनिनुहुन्छ । नेता राणाले पार्टी छाडेलगत्तै रास्वपा निकटको प्रवास नेपाली सम्पर्क समिति अमेरिकाका संस्थापक सभापति तथा हालका केन्द्रीय सदस्य डिल्ली पौडेलले पनि सो पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ ।
गत शुक्रबार रास्वपा मधेस प्रदेश कमिटीका संस्थापक सदस्य पवन चौधरीले पार्टीको साधारण सदस्यबाट समेत अलग हुने घोषणा गर्नुभएको छ । शुक्रबार केन्द्रीय कार्यालयलाई सम्बोधन गरेर बुझाइएको राजीनामा पत्रमा चौधरीले लेख्नुभएको छ, ‘राजनीतिमा युवा पुस्ता आउनुपर्छ र जान्नेलाई छान्ने भन्ने नाराबाट प्रेरित भएर पार्टीमा लागे पनि पछिल्लो समय पार्टीले अवलम्बन गरेको पद्धति, निर्णय प्रक्रिया र कार्यशैली स्थापनाकालीन मूल्य, विधान र सार्वजनिक प्रतिबद्धताविपरीत भएको छ ।’ २०७९ को निर्वाचनमा बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट चौधरीले सात हजार मत पाउनुभएको थियो ।
शनिबार मात्रै रास्वपा नुवाकोटका नेता अशोककुमार थापाले पार्टी परित्याग गर्नुभएको छ । रास्वपा धनगढी उपमहानगरपालिकाका संस्थापक नगर सभापति ईश्वरी विष्टले पनि पार्टी परित्यागको घोषणा गर्नुभएको छ । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कैलाली-५ बाट उम्मेदवार बनेर विष्टले सुदूरपश्चिम प्रदेशमै रास्वपाको दोस्रो बढी मत प्राप्त गर्ने उम्मेदवार बन्नुभएको थियो । यस्तै, रास्वपा बर्दघाट नगरपालिकाका नेता जीतबहादुर हरिजनले पनि पार्टीबाट राजीनामा दिनुभएको छ । पार्टी छाडेका हरिजन बर्दघाट-१३ का सभापति हुन् ।
यस्तै, रास्वपाका सुस्ता गाउँपालिका, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का उपसभापति गुप्तसेन ठकुरी (मनोज) ले पनि पार्टी परित्याग गर्नुभएको छ । पार्टीको भनाइ र गराइमा फरक पारदर्शिता नदेखिएको र अवसरवादीको चंगुलमा पार्टी फस्दै गएको भन्दै उहाँले शनिबार पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो । पार्टीका सभापति रवि लामिछानेमाथि एकपछि अर्को काण्ड थपिँदै जाँदा रास्वपामा राम्रो पहिचान बनाएका संस्थापक नेता सन्तोष परियार र सुमना श्रेष्ठले पनि केही समयअघि नै पार्टी छाडिसक्नु भएको छ ।
के भन्छन् पार्टी छाडेका नेताहरू ?
रास्वपा परित्याग गरेका नेताहरूले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा विचार गरेर मात्र मतदान गर्न आग्रह गरेका छन् । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले चटकदार अनुहारभन्दा देश र समाज बुझेका जिम्मेवार राजनीतिक व्यक्तित्व र दल रोज्न मतदातालाई आग्रह गरेका हुन् । देश हाल गम्भीर अवस्थामा पुगेको भन्दै उनीहरूले सामाजिक सञ्जालको भ्रमबाट बाहिर निस्केर सोचविचार गर्न अपिल गरेका छन् ।
बागमती प्रदेशका उपसभापति रहेर हालै रास्वपा छोड्नुभएका दिनेश हुमागाईंले भावनात्मक प्रचारभन्दा नीतिगत स्पष्टता र देशबोधका आधारमा मत दिन आग्रह गर्नुभएको छ । नयाँ दलको नाममा नेपाली जनता र ‘जेन-जी’ आन्दोलनमाथि नै धोका हुन लागेको आरोप लगाउँदै भन्नुभयो, ‘फागुन २१ गतेको निर्वाचनमा चटकदारलाई मत हाल्ने होइन, राजनीतिक व्यक्ति, देश बुझेको व्यक्ति र समाज बुझेको व्यक्ति तथा पार्टी छान्नुहोस् । चुपचाप फलानो छाप भन्ने होइन, धेरै अध्ययन गरेर मत हाल्नुस् ।’
रास्वपाबाट अलग भएका प्रणय शमशेर राणाले पार्टी नेतृत्वमाथि संगठनात्मक पारदर्शिता र आन्तरिक लोकतन्त्र कमजोर बनाएको आरोप लगाउँदै भन्नुभयो, ‘थितिको थालनी, बेथितिको अन्त्य भनेको साढे तीन वर्षमै उल्टो भयो । थितिको अन्त्य र चरम बेथितिको थालनी रास्वपामा देखियो । संगठनको आधारमा प्राइमरी इलेक्सन हुन्छ भनियो तर चुनावको मुखमा आएर नेतृत्व छान्ने अधिकार संगठनबाट खोसियो । सम्पूर्ण पार्टी स्क्याममा परेको छ ।’
रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति रहिसक्नु भएकी ममता शर्माले पार्टीभित्र अपारदर्शिता बढ्दै गएको बताउनुभयो । बाहिर पारदर्शिताको कुरा गरिए पनि व्यवहार उल्टो देखिएको टिप्पणी गर्नुभएकी शर्माले भन्नुभयो, ‘जान्नेलाई छान्ने पार्टीको नारा उल्टो भयो । पार्टीले पारदर्शिताको कुरा गर्थ्यो तर भित्र अपारदर्शिता धेरै देखियो । त्यसैले रास्वपामा लागेका साथीहरू दैनिक रूपमा पार्टी छाड्दै छन् ।’समाचार स्रोत : अनिल क्षेत्री / हिमालय टाईम्स पत्रीका




















