प्रश्नबाट धमाधम भाग्दै “रास्वपा” उम्मेदवारहरु, दुई उम्मेदवारको अभिव्यक्तिले विवाद।

काठमाडौं := राष्ट्रिय स्वतन्त्र पार्टी “रास्वपा”का दुई उम्मेदवारको अभिव्यक्तिले विवाद निम्तिएको छ । सुनसरी र ललितपुरमा रास्वपाका दुई उम्मेदवारले दिएका आक्रामक अभिव्यक्तिले विवाद निम्तिएको हो । सुनसरी-३ का उम्मेदवार अशोक चौधरीले इटहरीमा आयोजित अन्तरक्रिया कार्यक्रममा आफ्नो पार्टीलाई भोट नहाल्नेहरूलाई ‘देशविरोधी’को संज्ञा दिएपछि कार्यक्रमस्थलमै तनाव सिर्जना भएको थियो ।

सुनसरीका उम्मेदवारबीच आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले देशको निकासका लागि रास्वपालाई दुईतिहाइ बहुमत दिनुपर्ने तर्क गर्नुभएको थियो । ‘परिवर्तन चाहनुहुन्छ भने दुईतिहाइ पुर्‍याउन लाग्नुस् । यदि लाग्नुहुन्न भने तपाईं अस्थिर सरकार चाहनुहुन्छ, तपाईं देशविरोधी हो’, उहाँको भनाइ थियो। उक्त अभिव्यक्तिपछि कार्यक्रममा सहभागी युवा तथा अन्य दलका प्रतिनिधिले आपत्ति जनाउँदै होहल्ला गरेका थिए। स्थिति तनावपूर्ण बनेपछि प्रहरीले चौधरीलाई सुरक्षा घेरामा कार्यक्रमस्थलबाट बाहिर निकालेको थियो ।

यता, ललितपुर क्षेत्र नम्बर २ मा रास्वपा उम्मेदवार जगदीश खरेलको अभिव्यक्ति पनि विवादमा परेको छ। चुनावी घरदैलोका क्रममा मतदातासँग चर्काचर्की भएपछि खरेलले प्रश्न गर्ने मतदातालाई ‘४५ वर्षदेखि देश लुटेर खाने दलको हनुमान’ भन्दै प्रतिवाद गर्नुभएको थियो । घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ, जसमा खरेल आक्रोशित मुद्रामा देखिनुभएको थियो ।

मतदाताले खरेलको बार्बरा फाउन्डेसनसँगको आबद्धतामाथि प्रश्न उठाएपछि विवाद चर्किएको थियो । आरोप पुष्टि गर्न चुनौती दिँदै उहाँले आफ्नो पार्टीले मात्र देश बनाउन सक्ने दाबी दोहोर्‍याउनुभएको थियो ।  पूर्व-सञ्चारमन्त्रीसमेत रहनुभएका खरेल पछिल्लो समय ‘भगौडा मन्त्री’को आरोपसमेत खेपिरहनु भएको छ । चुनाव गराउने म्याण्डेटसहित सरकारमा सहभागी हुनुभएका उहाँ बीचमै मन्त्री पद त्यागेर उम्मेदवार बनेपछि आलोचना भइरहेको छ ।