चुनावको मुखमै नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आमनेसामने।

दाङ := चुनावको मुखमै प्रमुख दुई दल नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आमनेसामने भएका छन् । प्रचारप्रसारका क्रममा रास्वपा कार्यकर्ता/समर्थकले एमालेको चुनाव चिह्न सूर्य अंकित झण्डा जलाइदिएपछि एमाले आक्रोशित भएको हो ।

चुनावी प्रचारका क्रममासमेत रास्वपा समर्थकहरू एमाले र अध्यक्ष केपी ओलीविरुद्ध सबैभन्दा बढी खनिने गरेका छन् । ‘जेन-जी’ आन्दोलनपछि आफूहरू उनीहरूकै प्रतिनिधि भएको दाबी गर्न रास्वपा उम्मेदवार र समर्थकहरूले ओलीलाई ‘भिलेन’को रूपमा प्रस्तुत गर्ने गरेका हुन् । सामाजिक सञ्जाल र आमसञ्चार माध्यमहरूमा पनि रास्वपा र एमाले नेताहरूबीच आरोप-प्रत्यारोप हुने गरेको छ ।

झण्डा जलाउने कार्यलाई एमालेले अपरिपक्वताको पराकाष्ठा भनेको छ । बिहीबार राति दाङको तुलसीपुर बजारमा रास्वपा कार्यकर्ताहरूले एमालेको चुनाव चिह्न सूर्य अंकित झण्डा जलाएका थिए । त्यसपछि एमालेसहित एमालेनिकट जनसंगठनहरूले विज्ञप्ति निकाल्दै आपत्ति जनाएका छन् । एमाले दाङ जिल्ला अध्यक्ष शिवकुमार आचार्यले विज्ञप्ति जारी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिम्मेवार राजनीतिक शक्तिको रूपमा प्रस्तुत हुन आग्रह गर्नुभएको छ ।

आफ्नो झण्डा जलाउनेलाई कारबाही नगरिए प्रतिकार गर्ने एमालेले चेतावनी दिएको छ । यसैगरी, एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा जलाएकोमा निन्दा गरेको छ । युवा संघका अध्यक्ष महाराज गुरुङले विज्ञप्ति निकाल्दै आफूहरू आलोचना स्वीकार्ने तर अवरोध, अराजकता र उच्छृंखलता नस्वीकार्ने बताएका छन् ।

यस्तै, एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा जलाएर लोकतान्त्रिक मूल्यमान्यता, राजनीतिक सहिष्णुता र सामाजिक सद्भावमा आघात पुर्‍याएको बताएको छ ।

धैर्यतालाई कमजोरी नठान्न एमालेको चेतावनी

एमालेले रास्वपाका कार्यकर्ताले बिहीबार राति दाङको तुल्सीपुरमा आफ्नो चुनाव चिह्न ‘सूर्य’ अंकित झण्डा जलाएको घटनाको निन्दा गरेको छ । एमालेका केन्द्रीय प्रचार संयोजक मीनबहादुर शाहीले शुक्रबार विज्ञप्ति जारी गरी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अपाच्य शब्दसहित नाराबाजी तथा महासचिव शंकर पोखरेलको गृहनगरमै रास्वपाका कार्यकर्ताले गरेको यो शैली राज्य, जनता, लोकतन्त्र र संविधानविरुद्धको अपराधजन्य कार्य भएको उल्लेख गर्नुभएको छ । देश जलाउनेहरूबाटै एमालेको चुनाव चिह्न ‘सूर्य’ अंकित झण्डा जलाउनु निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन भएको एमालेले टिप्पणी गरेको छ ।

एमाले अनुशासित पार्टी भएकाले यो घटनाबाट उत्तेजित नभएको उल्लेख गरेको छ । ‘यद्यपि हाम्रो संयमता, धैर्य हामी कमजोर भएर होइन । एमाले कानुनी शासनको सम्मान गर्ने भएकाले झण्डा जलाउने रास्वपाका कार्यकर्ताहरूलाई तत्काल पहिचान गरी कानुनी दायरामा लिई कारबाही गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन चाहन्छ’, विज्ञप्तिमा भनिएको छ ।

रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित
रास्वपाले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा स्थगित गरेको छ । पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहले सम्बोधन गर्न तय भएको सभा विशेष कारणले हालका लागि स्थगित गरिएको सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिनुभयो ।

शुक्रबार दाङमा एमालेको झण्डा जलाएपछि द्वन्द्व निम्तिनसक्ने देखिएकाले रास्वपाले तत्काललाई सभा स्थगित गरेको हो । रास्वपाले सुदूरपश्चिम प्रदेशबाट परिवर्तनको उद्घोष सभा सुरु गरेको थियो । त्यसपछि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा चुनावी सभा गरेर वाचापत्र (घोषणापत्र) सार्वजनिक गरेको थियो । सुदूरपश्चिम र सुर्खेतको सभामा सभापति लामिछाने र वरिष्ठ नेता साहले सम्बोधन गर्नुभएको थियो । रास्वपाले शुक्रबार दाङमा सभा गरेको थियो ।