काठमाडौं := नेपाली कांग्रेसले यही फागुन २१ गते हुने निर्वाचन लक्षित ‘प्रतिज्ञापत्र नाम’ दिएर घोषणापत्र सार्वजनिक गरेको छ । मधेस प्रदेशको राजधानी जनकपुरधाममा आसन्न निर्वाचन लक्षित पहिलो आमसभाबीच पार्टी सभापति गगनकुमार थापाले घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।
‘सुशासन र समुन्नतिका लागि नेपाली कांग्रेसको प्रतिज्ञापत्र’ नाममा सार्वजनिक भएको घोषणापत्रमा कांग्रेसले आफूलाई परम्परागतभन्दा फरक ढंगले प्रस्तुत गर्न खोजेको छ । जनकपुरमा आयोजित प्रतिज्ञासभामा पार्टीको घोषणापत्रको रूपमा रहेको प्रतिज्ञापत्रको संक्षिप्त अंश सार्वजनिक गरिएको हो ।
प्रतिज्ञापत्रको विस्तृत अंश भने आज (बिहीबार) राष्ट्रिय सभागृहमा हुने आयोजित कार्यक्रममा सार्वजनिक गरिँदै छ । साथै, उक्त कार्यक्रममा घोषणापत्रमाथि उठेका प्रश्नहरूको जवाफ सभापति थापाले दिने कार्यक्रम छ । घोषणापत्रमा गत भदौ २३ र २४ गते भएको ‘जेन-जी’ विद्रोहलाई आत्मसाथ गरिएको छ ।
कांग्रेसले घोषणापत्रमा राज्यका संवैधानिक निकाय राजनीतिक प्रभावबाट पूर्णरूपमा मुक्त गरिने, भ्रष्टाचार नियन्त्रण, वित्तीय अनुशासन र सुशासनका लागि प्रभाकारी कानुन निर्माण गरेर कार्यान्वयन गर्ने लगायतका विषय समेटिएको छ । संविधान संशोधनका लागि सबै राजनीतिक पार्टी र सरोकारवालाहरूसँग राष्ट्रिय संवाद गर्ने पनि घोषणापत्रमा उल्लेख गरिएको छ ।
कांग्रेसले सम्पत्ति छानविन आयोग गठन, संविधान संशोधन र प्रधानमन्त्रीको कार्यकाल दुई पटकमा सीमित गर्ने विषय पनि समेटिएको छ । मन्त्रिपरिषद्का निर्णयलाई पनि अख्तियारको छानविनको दायराभित्र ल्याउनेगरी भ्रष्टाचार निवारण ऐन र अख्तियार ऐन संशोधन गर्ने पनि प्रतिज्ञापत्रमा उल्लेख छ ।
मन्त्री, सांसद र उच्च पदस्थ राजनीतिक व्यक्तिहरूले शपथ लिनुपूर्व आफ्नो सम्पत्ति अनिवार्य सार्वजनिक घोषणा गर्ने, २०६३ पछि सार्वजनिक पदमा रहेका वा नरहेका हरेक व्यक्तिको सम्पति छानविन गर्न उच्चस्तरीय सम्पत्ति छानविन आयोग गठन गर्ने विषय प्रतिज्ञापत्रमा समेटिएको छ । त्यस्तो आयोगलाई पूर्वन्यायाधीश, सेनाका पूर्वअधिकारी लगायतका सम्पूर्ण व्यक्तिको सम्पत्ति छानविनको समेत अधिकार प्रदान गर्ने उल्लेख गरिएको छ ।
निर्वाचन प्रणालीमा संशोधन गर्ने र आरक्षित निर्वाचन क्षेत्र प्रणाली अपनाउने पनि घोषणापत्रमा उल्लेख गरिएको छ । आरक्षित निर्वाचन क्षेत्रमा जाँदा एउटा क्षेत्र एकपटक मात्रै आरक्षित हुने अभ्यास गरिने कांग्रेसको प्रतिबद्धता छ । उम्मेदवार चयनमा सदस्यतामा आधारित प्राइमेरी निर्वाचनमा जाने विषयलाई पनि कांग्रेसले जोड दिएको छ ।
सन्तुलित परराष्ट्र सम्बन्ध अँगाल्ने बताएको कांग्रेसले अर्थतन्त्रका क्षेत्रलाई दलीय प्रभाव, दबाब र कब्जामुक्त पार्नेसमेत घोषणा गरेको छ । कांग्रेसले प्रधानमन्त्री दुई कार्यकाल मात्रै रहन पाउने व्यवस्था प्रस्ताव गरेको छ ।
कांग्रेसले नागरिकका विषयलाई प्राथमिकता दिएर १० वटा मुद्दामा आधारित भएर प्रतिज्ञापत्र बनाएको छ ।
जसमा १० वटा भिजनमा आधारित २० वटा क्षेत्रगत प्राथमिकतामा राखिएको छ । कांग्रेसको सरकार बनेपछि कसरी काम गर्ने ? भनेर व्याख्या हुने प्रतिज्ञापत्रमा उल्लेख छ।
प्रतिज्ञापत्रमा नेपालमा अपेक्षित रूपमा किन विकास भएन, कहाँ-कहाँ कमजोरी भए ? भन्ने कुरा जोडेर ‘प्रोजेक्ट गभर्नेन्स’को रोडम्याप प्रस्ताव गरिएको छ । पूर्वाधार, शिक्षा, स्वास्थ्य, युवा रोजगारी जस्ता प्रत्येक विषयमा भएका नीतिगत कानुनी समस्याको विषय प्रतिज्ञापत्रमा समावेश गरिएको छ ।
कांग्रेसले गत पुस २७-३० गते भृकुटीमण्डपमा सम्पन्न गरेको दोस्रो विशेष महाविधेशनबाट पारित राजनीतिक दस्ताबेजमा केन्द्रित रहेर घोषणापत्र तयार पारेको हो । बुधबार सार्वजनिक घोषणापत्रमा कांग्रेसले राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीमा सुधारको आवश्यकता औँल्याएको छ ।
प्रतिज्ञापत्रमा यस्तो छ कांग्रेसको १० भिजन
-सम्मानित भएर बाँच्न पाउने नेपाल
-सपना देख्न सक्ने नेपाल
-सम्पत्ति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नेपाल
-पेटभरी खुवाउने, देशलाई चिनाउने किसानको नेपाल
-ओखती र ओत दिने नेपाल
-छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल
-बेथिति र हैरानी मुक्त विधिको शासन भएको नेपाल
-मौलिकतामा गर्व गर्ने आधुनिक नेपाल
-विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल
-सम्मुनतिमा लम्कने नेपाल




















