रास्वपा पार्टी छाडेकी मधेस प्रदेश संस्थापक शर्मा अन्ततः कांग्रेसमा प्रवेश।

RSP to Nep . Congress

जनकपुर := राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्मा नेपाली कांग्रेस प्रवेश गरेकी छन् । रास्वपा परित्याग गर्ने घोषणा गरेकी शर्मा बुधबार जनकपुरधाममा आयोजित कांग्रेसको सभामा पार्टी प्रवेश गरेकी हुन् ।

पार्टी विधि र विधानविपरीत नचलेको भन्दै उहाँले रास्वपाको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गर्नुभएको थियो । पार्टीमा खटिएका क्षमतावान रास्वपा कार्यकर्ताहरूको मूल्यांकन नभएको शर्माको आरोप छ । रास्वपाले जान्नेलाई छान्ने नीतिभन्दा विपरीत व्यवहार गरेको उहाँको टिप्पणी छ ।

रास्वपामा आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरू भएकाले आफू यस्ता क्रियाकलापहरूको साक्षी बसेर अब मौन रहिरहन नसकेको उहाँको दाबी छ । रास्वपाको नीति गलत नेतृत्वका कारण बिग्रिएको उहाँको टिप्पणी छ ।

पार्टी प्रवेशपछि सम्बोधन गर्दै शर्माले रास्वपामा आफूले योगदान गरे पनि दागी व्यक्तिहरूलाई प्राथमिकता दिइएको आरोप लगाइन् । उनले पार्टीभित्रको निर्णय प्रक्रिया र टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै आफूले रास्वपा परित्याग गरेको स्पष्ट पारिन् । ‘रास्वपा पार्टीमा दागैदाग भएकाहरूले टिकट पाएपछि मैले गरेको योगदान खेर गएको महसुस भयो। त्यसैले जेनजीको भावना बोकेको र सुशासनमा जोड दिने नेपाली कांग्रेसमा प्रवेश गरेकी हुँ,’ उनले भनिन् ।

शर्माले नेपाली कांग्रेस ८० वर्षे राजनीतिक विरासत बोकेको पार्टी भएको उल्लेख गर्दै मधेशको मुद्दालाई प्राथमिकतामा राख्ने दाबी गरिन् । वर्तमान नेतृत्वले मधेशमै आएर उम्मेदवारी दिएको सन्दर्भ उल्लेख गर्दै उनले मधेशी जनताले कांग्रेसलाई साथ दिनुपर्ने धारणा व्यक्त गरिन् । उनले विगतका निर्वाचनहरूमा मधेशले नेताहरूलाई मत दिए पनि अपेक्षाअनुसार प्रतिफल नपाएको गुनासो गरिन् ।

‘हरेक चुनावमा मधेशले नेताहरूलाई भोट दियो । तर, नेताहरूले मधेशलाई चोटैचोट दिए,’ उनले भनिन् । मैथिली भाषामा सम्बोधन गर्दै शर्माले मधेशका मतदातालाई सक्षम उम्मेदवार छान्न र कांग्रेसका उम्मेदवारलाई समर्थन गर्न अपिल गरिन् । उनले मधेशको विकास र सुशासनका लागि यसपटक परिवर्तनको पक्षमा उभिन आग्रह गरिन् ।

शर्माको पार्टी प्रवेशलाई मधेश प्रदेशको राजनीतिक वृत्तमा अर्थपूर्ण घटनाका रूपमा हेरिएको छ । आगामी निर्वाचन नजिकिँदै जाँदा उनको यो निर्णयले स्थानीय राजनीतिक समीकरणमा प्रभाव पार्ने अनुमान गरिएको छ ।