जनकपुर := नेपाली कांग्रेसका सभापति थापाले अब कुनै पनि व्यक्तिले राज्यसँग प्रश्न सोधेकै भरमा गोली नखाने बताउनुभएको छ । बुधबार मधेस प्रदेशको राजधानी जनकपुरधामको तिरुहुतियागाछीमा आयोजित कांग्रेसको प्रतिज्ञा सभालाई सम्बोधन गर्दै थापाले नेपाली कांग्रेसले राज्यसँग प्रश्न सोधेकै भरमा गोली नखाने देश बनाउन चाहेको बताउनुभएको हो ।
उहाँले अब कसैले नकाब लगाएर सिंहदरबार नजलाउने उल्लेख गर्दै भन्नुभयो, ‘अब कसैले प्रश्न सोधेकै भरमा गोली खानु पर्दैन । कसैले नकाब लगाएर सिंहदरबार जलाउनु पर्दैन। यो नेपाली कांग्रेसको प्रतिज्ञा हो ।’ उहाँले अब कुनै किसानले खेती गर्दै गर्दा खात (मल) कहिले पाउने भनेर लाइन लाग्नुपर्ने अवस्थाको अन्त्य गर्ने कांग्रेसको प्रतिज्ञा रहेको बताउनुभएको छ । कुनै सेवाग्राहीले सार्वजनिक सेवा लिँदा घुस दिन नपर्ने अवस्थाको नेपाल बनाउने आफूहरूको प्रतिज्ञा रहेको थापाको भनाइ छ ।
अब नेपाली कांग्रेसका कोही पनि नेता कुनै काण्डमा मुछिने छैनन् भन्ने आफूहरूको प्रतिज्ञा रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘सरकारमा होला, प्रतिपक्षमा होला । सडकमा होला, महलमा होला । जहाँ होला अबको यो पाँच वर्ष नेपाली कांग्रेसका प्रत्येक सदस्यले यही प्रतिज्ञाअनुसार काम गर्नेछन्।’ सभापति थापाले हरेक नेपालीलाई सम्मानित भएर बाँच्न पाउने गरी देश निर्माण नै अबको भिजन भएको स्पष्ट पार्दै भन्नुभयो, ‘प्रत्येक नेपाली सम्मानित भएर बाँच्न पाउने बनाउनेछौँ । प्रत्येक नेपालीले सपना देख्न पाउने र आफ्नो जीवनकालमा साकार हुनसक्ने बनाउनेछौँ ।’
सहकारी ठगहरूलाई तह लगाउने चेतावनी
कांग्रेस सभापति थापाले मधेसको वित्तीय संरचना खलबलिएको बताउनुभएको छ । मिटरब्याज, लघुवित्त र सहकारीको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै सभापति थापाले भन्नुभयो, ‘सहकारीका ठगहरूलाई तह लगाउने मात्रै होइन, मिटरब्याज र लघुवित्तका ठगहरूलाई तह लगाउने मात्रै होइन, हामी मधेसमा वैकल्पिक वित्तीय संरचना निर्माण गर्न चाहन्छौँ ।’ उहाँले मधेसमा क्रिकेट रंगशाला लगायतको पूर्वाधारको काम पनि पाँच वर्षभित्र गर्ने बताउनुभयो ।




















