क्वालालम्पुरमा ऐतिहासिक सोनाम ल्होछार तथा ग्याल्बो ल्होसार–२०२६ भव्य रूपमा सम्पन्न।

क्वालालम्पुर(मलेसिया):= नेपाल तामाङ घेदुङ मलेसिया तथा शेर्पा संघ मलेसियाको संयुक्त आयोजनामा ऐतिहासिक सोनाम ल्होछार तथा ग्याल्बो ल्होसार–२०२६ विशेष बृहत् सांस्कृतिक कार्यक्रम १७ फेब्रुअरीका दिन क्वालालम्पुरस्थित होटल ग्रान्ड कन्टिनेन्टलमा भव्य रूपमा सम्पन्न भएको छ।

नेपाल तामाङ घेदुङ मलेसियाका अध्यक्ष विक्रम वाईवा तामाङ र शेर्पा संघ मलेसियाका अध्यक्ष ङवाङ नुरी शेर्पाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा मलेसियाका लागि नेपाली दूतावासका कार्यबाहक राजदूत मुद्दिता बज्राचार्य प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। विशेष आकर्षणका रूपमा खेन्पो कर्मा रिन्जिनको उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन लोकप्रिय सञ्चालिका सुनिता लुङ्बाले गर्नुभएको थियो।

सांस्कृतिक कार्यक्रममा वरिष्ठ गायक विश्व दोङ, डीजे तेन्जिङ शेर्पा, गायिका लमु शेर्पा, बबिना किराती, निमा लामा लगायत राष्ट्रिय कलाकारहरूले आफ्ना सांगीतिक तथा नृत्य प्रस्तुति दिँदै दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरे। साथै, मलेसियामा रहेका स्थानीय कलाकारहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई अझै आकर्षक बनाएको थियो।

कार्यक्रमका क्रममा ल्होसार विशेष शुभकामना आदान–प्रदान, राष्ट्रिय तथा परम्परागत भेषभूषा प्रदर्शन, सांस्कृतिक झाँकी तथा मौलिक तामाङ कला–संस्कृति झल्काउने नृत्य–संगीत प्रस्तुत गरिएको थियो। आयोजकका अनुसार यस कार्यक्रमले मलेसियामा बसोबास गर्ने नेपाली समुदायबीच आपसी सद्भाव, एकता तथा सांस्कृतिक पहिचानको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको विश्वास व्यक्त गरिएको छ।