मलेसियामा नेपाली सुरक्षागार्ड चरम श्रम शोषणमा, ३० दिनको जम्मा २१०० पारिक्ष्रमिक।

क्वालालम्पुर (मलेसिया):= मलेसियामा कार्यरत १ लाखभन्दा बढी नेपाली सुरक्षा गार्ड दैनिक १२ घण्टा, महिनाको ३० दिन काम गर्दा पनि न्यूनतम पारिश्रमिक नपाउने, बिरामी पर्दा बिदा नदिइ तलब काटिने र उपचार खर्च आफैं बेहोर्न बाध्य हुने गम्भीर पीडामा रहेको तथ्य बाहिरिएका छन् ।

लामो समयदेखि त्यहाँ काम गरिरहेका दुर्गा मगर ले यहाँ मलेसियामा सेक्युरिटी गार्डमा पठाउने प्रक्रिया नै बन्द गर्नुपर्ने माग गर्दै, तोकिएको २,२०० रिंगिट तलबसमेत काटेर २,१२८ मात्रै खातामा आउने गरेको बताए ।

यसैबीच, वैधानिक रूपमा श्रमिक पठाउँदै आएको एक म्यानपावर कम्पनी आकर्षण इन्टरनेसनल का अध्यक्ष विष्णु केसी ले “हरेक गार्ड श्रम शोषणको सिकार बनेका छन्” भन्दै तीव्र आलोचना गरेका छन् ।

यता मलेसियास्थित जनउद्धार केन्द्र संस्थाका अध्यक्ष केशु थापा का अनुसार १,१२७ वटा सेक्युरिटी कम्पनीको लाइसेन्स कारोबार, नेपाली संलग्न बिचौलिया र एनआरएनए आसपासका नेटवर्कमार्फत कमिसन बढाउँदै गार्डहरूलाई काम पाउनकै लागि १० हजार रिंगिटसम्म बुझाउन बाध्य पारिने गरिएको बताएको छ ।

नेपाली दूतावास मलेसियाको तथ्यांक अनुसार हरेक महिना औसत ४० नेपालीको मृत्यु हुने गरेको छ, जसमा धेरैजसो सुरक्षा गार्ड नै छन् । दूतावासका श्रम काउन्सेलर कृष्णप्रसाद भुसाल ले शव नेपाल पठाउनुपर्ने अवस्था निरन्तर रहेको स्वीकारेका छन् ।

यद्यपि सन् २०१८ मा नेपाल–मलेसिया श्रम सम्झौताले भर्ती लागत रोजगारदाताले बेहोर्ने “फ्री भिसा – फ्री टिकट” को व्यवस्था गरे पनि व्यवहारमा लागू भएको छैन। नेपाली म्यानपावर दलाल र कम्पनीको मिलेमतोले नेपाली सुरक्षा गार्डहरू अझै चरम शोषणमा परिरहेको गम्भीर तथ्य बाहिरिएको छ ।