सप्तरीका चारै निर्वाचन क्षेत्रमा चुनावी तापक्रम उच्च, नयाँ र पुरानाबीच कडा प्रतिस्पर्धा।

राजविराज:= फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सप्तरीका चारै निर्वाचन क्षेत्रमा चुनावी तापक्रम उच्च बनेको छ । यसपटक कुनै औपचारिक गठबन्धनबिना अधिकांश दल आ–आफ्नै शक्तिमा मैदानमा उत्रिएका छन् । पुराना प्रभावशाली ‘हेभीवेट’ नेतासँगै नयाँ तथा युवा उम्मेदवारको सक्रिय उपस्थितिले प्रतिस्पर्धा थप रोचक र बहुआयामिक बनेको छ ।

समग्रमा चारै क्षेत्रमा पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, निवर्तमान सांसददेखि पार्टीका केन्द्रीय अध्यक्षसम्म प्रत्यक्ष प्रतिस्पर्धामा रहेकाले यस निर्वाचनलाई प्रतिष्ठा, प्रभाव र आगामी राजनीतिक दिशाको निर्णायक मोडका रूपमा हेरिएको छ ।

क्षेत्र नम्बर १
क्षेत्र नम्बर १ मा नेकपा एमालेका सुमनराज प्याकुरेल, नेपाली कांग्रेसका जिल्ला सभापति रामदेव साह र जनमत पार्टीका डा। जयकान्त राउत बीच मुख्य प्रतिस्पर्धा देखिएको छ । तीनै जना अघिल्लो निर्वाचनमा पराजित भइसकेका अनुहार भएकाले यसपटक उनीहरूका लागि चुनाव प्रतिष्ठाको पुनः परीक्षा बनेको छ । स्वाभिमान पार्टीका सुमित साह लगायत अन्य उम्मेदवारको उपस्थितिले प्रतिस्पर्धा अझ फराकिलो बनेको छ ।

क्षेत्र नम्बर २
क्षेत्र नम्बर २ मा चुनाव ‘आन्दोलन र शासन’को बहसतर्फ केन्द्रित देखिएको छ । जनमत पार्टीका अध्यक्ष डा। सीके राउत आन्दोलनबाट स्थापित राजनीतिक पहिचानसहित मैदानमा छन् । पूर्वमुख्यमन्त्री सतिशकुमार सिंह अनुभव र कार्यसम्पादनको आधारमा मत मागिरहनुभएको छ भने जसपा नेपालका उमेश कुमार यादव संगठन र परम्परागत मतदाताको आधारमा प्रतिस्पर्धामा उत्रिनुभएको छ । यस क्षेत्रमा विकास, रोजगारी र आधारभूत सेवा–सुविधा मुख्य मुद्दाका रूपमा उठिरहेका छन् ।

क्षेत्र नम्बर ३
क्षेत्र नम्बर ३ मा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव को उम्मेदवारीले विशेष चासो थपेको छ । अघिल्लो निर्वाचनमा पराजित भएपछि क्षेत्र परिवर्तन गर्दै उहाँ यसपटक यहाँबाट प्रतिस्पर्धामा उत्रिनुभएको हो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति तथा निवर्तमान सांसद दिनेशकुमार यादव र एमालेका जिल्ला अध्यक्ष ताराकान्त चौधरी रहनुभएको छ । तीन प्रभावशाली अनुहारबीचको भिडन्तले यो क्षेत्रलाई चर्चाको केन्द्रमा ल्याएको छ ।

क्षेत्र नम्बर ४
क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका नेता तथा निवर्तमान युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी पुनः प्रतिस्पर्धामा उत्रिनुभएको छ । उहाँका प्रतिस्पर्धी जसपा नेपालकी डा। बबी सिंह यादव र राष्ट्रिय स्वतन्त्र पार्टीका सीताराम साह रहनुभएको छ । यहाँ अनुभव र नयाँ राजनीतिक धारबीच स्पष्ट प्रतिस्पर्धा देखिएको छ ।

समग्रमा, सप्तरीका चारै निर्वाचन क्षेत्रमा यसपटकको चुनाव हेभीवेट नेताको प्रत्यक्ष भिडन्त, नयाँ पुस्ताको सक्रियता र दलहरूको स्वतन्त्र प्रतिस्पर्धाका कारण असाधारण बनेको छ । फागुन २१ को मतपरिणामले केवल सांसद चयन गर्ने मात्र नभई मधेशको भावी राजनीतिक दिशाबारे समेत स्पष्ट सन्देश दिने अपेक्षा गरिएको छ ।

समाचार : अनिल पोख्रेल / हिमालय टाइम्स पत्रीका ।