काठमाडौं := हालै सम्पन्न निर्वाचनमा दुईतिहाइ सिट जित्दै स्पष्ट जनादेश प्राप्त गर्नुभएका तारिक रहमानले ११ फागुनमा बंगलादेशका प्रधानमन्त्रीका रूपमा शपथ लिने हुनुभएको छ । बंगलादेश राष्ट्रिय पार्टीका अध्यक्षसमेत रहनुभएका रहमानले सोही दिन मन्त्रिपरिषद्का सदस्यहरूसहित सामूहिक रूपमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले उल्लेख गरेका छन् ।
बेलायतबाट प्रकाशित लोकप्रिय बंगलादेशी पत्रिका प्रथम आलोले स्रोत उद्धृत गर्दै शपथ समारोह ११ फागुनमा आयोजना हुने पुष्टि गरेको हो । बंगलादेशको राष्ट्रिय संसद्को साउथ प्लामा यो शपथ समारोह हुनेछ । विगतमा शपथ समारोह बंगभवनस्थित दरबार हलमा हुने गरेको थियो । यो राष्ट्रपतिको आवास पनि हो । तर, यसपटक ठूलो संख्यामा अतिथि निम्त्याइएका कारण जातीय संसद् भवनको दक्षिण प्लाजामा समारोह राखिएको छ । जहाँ व्यापक जनसहभागिता र कडा सुरक्षा व्यवस्थासहित समारोह सम्पन्न गरिने तयारी छ ।
क्षेत्रीय तथा अन्तर्राष्ट्रिय उपस्थिति
शपथ समारोहमा दक्षिण एसिया तथा मध्यपूर्वका विभिन्न देशका प्रतिनिधिहरूलाई निमन्त्रणा पठाइएको छ । ढाकाले यस समारोहमा सहभागी हुन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न १३ देशका नेताहरूलाई निमन्त्रणा पठाएको हो । नेपाल, भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, भुटान, चीन, साउदी अरेबिया, टर्की, संयुक्त अरब इमिरेट्स (युएई), कतार, मलेसिया तथा ब्रुनाईका उच्चस्तरीय प्रतिनिधि समारोहमा सहभागी हुने अपेक्षा गरिएको छ । यसले रहमान नेतृत्वको नयाँ सरकार क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गर्न इच्छुक रहेको सन्देश दिने विश्लेषण गरिएको छ ।
निर्वाचन परिणाम : स्पष्ट बहुमत
गत बिहीबार देशभरका २९९ निर्वाचन क्षेत्रमा मतदान सम्पन्न भएको थियो । २९७ सिटको मतगणना सम्पन्न हुँदा बंगलादेश राष्ट्रिय पार्टीले २०९ सिट जित्दै दुईतिहाइ नजिकको बहुमत हासिल गरेको हो । बाँकी दुई सिटमा अदालतले तत्काल मतगणना नगर्न आदेश दिएको छ । कुल ३०० प्रत्यक्ष निर्वाचित सिटमध्ये एक क्षेत्रमा उम्मेदवारको निधनका कारण निर्वाचन स्थगित गरिएको थियो । बाँकी परिणामले भने रहमान नेतृत्वको दललाई एकल रूपमा सरकार गठन गर्न पर्याप्त जनादेश दिएको छ ।
संसद्को संरचना
बंगलादेशको जातीय संसद्मा कुल ३५० सिट छन् । त्यसमध्ये ३०० सिट प्रत्यक्ष निर्वाचनबाट गरिन्छन् भने ५० सिट महिलाका लागि आरक्षित छन् । आरक्षित सिटमा प्रतिनिधित्व दलहरूले प्रत्यक्षतर्फ प्राप्त गरेको मतभारका आधारमा समानुपातिक प्रणालीबाट तय गरिन्छ ।
नयाँ सरकारका प्राथमिकता
दुईतिहाइ बहुमतसहित सरकार गठन गर्न लागेका रहमानको नेतृत्वमा बन्ने नयाँ सरकारले राजनीतिक स्थायित्व, आर्थिक पुनरुत्थान, रोजगारी सिर्जना, पूर्वाधार विकास तथा सुशासनलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ । निर्वाचन अभियानका क्रममा रहमानले आर्थिक सुधार, विदेशी लगानी भित्र्याउने, निर्यात प्रवर्द्धन गर्ने र युवा रोजगारी विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
शपथ समारोहसँगै बंगलादेशमा नयाँ राजनीतिक अध्यायको औपचारिक सुरुआत हुने भएको छ । व्यापक जनादेशसहित सत्तारोहण गर्न लाग्नुभएका रहमानको नेतृत्वले आगामी दिनमा देशको आन्तरिक राजनीति र क्षेत्रीय कूटनीतिमा कस्तो प्रभाव पार्छ भन्ने विषय चासोको केन्द्रमा रहेको छ ।
तारिक पूर्वप्रधानमन्त्री खालिजा जियाका छोरा हुनुहुन्छ । शेख हसिनाको दल अवामी लिगलाई चुनाव लड्न नदिएपछि रहमानको दलले एकछत्र जित निकालेको हो । बंगलादेशका मूलधारका दल हसिनाको अवामी लिग र रहमानको बिएनपी हो । बिएनपी धार्मिक मुद्दामा झुकाव राख्छ भने अवामी लिग धर्मीनिरपेक्ष दल हो । रहमानले देशवासीलाई एकताबद्ध रहन आग्रह गर्दै देशको हितका लागि सबै एकजुट हुनुपर्ने बताउनुभएको छ ।




















