लगातार तेस्रो हारसँगै नेपाल विश्वकप-२०२६ को समूह चरणबाटै बाहिरियो।

काठमाडौं := लगातार तेस्रो हारसँगै नेपाल पुरुष क्रिकेट टोली आइसिसी पुरुष टी-२० विश्वकप २०२६ को समूह चरणबाटै बाहिरिएको छ । आइतबार मुम्बईस्थित वानखेडे रंगशालामा नेपालविरुद्ध वेष्ट इण्डिजले ९ विकेटको सहज जित हात पारेको हो । नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रनमात्र बनाउन सक्दा वेष्ट इण्डिजले दिएको लक्ष्य १५.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो ।

वेष्ट इण्डिजका लागि कप्तान साइ होपले अविजित ६१ रन बनाउँदै टोलीलाई जित दिलाउन महत्वपूर्ण योगदान गर्नुभयो । उहाँले ४४ बलमा ५ चौका र ३ छक्का प्रहार गर्नुभयो । त्यसैगरी सिम्रन हेटमायरले अविजित ४६ तथा ब्रेण्डन किंगले २२ रनको योगदान गर्नुभयो । नेपालका लागि एकमात्र विकेट नन्दन यादवले लिनुभएको थियो ।

टस हारेर पहिलो ब्याटिङमा आएका नेपाली

ब्याट्सम्यानहरूले १३४ रनमात्र बनाउन सके । दीपेन्द्रले ४७ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ५८ रन बनाउँदा नेपालका सबैभन्दा बढी रनकर्ता बन्नुभयो । त्यस्तै, सोमपाल कामीले अविजित २६, लोकेश बमले १३ र आसिफ शेख तथा गुल्सनकुमार झाले ११-११ रन बनाउनुभयो ।

बलिङतर्फ वेष्ट इण्डिजका जेसन होल्डरले ४ विकेट लिनुभयो भने अकिल होसेन, म्याथ्यु फोर्ड, शमर जोसेफ र रोस्टन चेजले १–१ विकेट हात पार्नुभयो । नेपालका लागि यो लगातार तेस्रो हार हो । समूह ‘सी’ मा नेपाल अझै अंकविहीन छ । यसअघि नेपालले इंग्ल्याण्डसँग ४ रन र इटालीसँग १० विकेटले पराजय भोगिसकेको थियो ।

त्यसविपरीत लगातार तेस्रो जित हात पारेको वेष्ट इण्डिजले ६ अंक जोड्दै सुपर-८ मा स्थान पक्का गरेको छ । वेष्ट इण्डिजले यसअघि खेलेका खेलमा स्कटल्याण्डलाई २५ रनले र इंग्ल्याण्डलाई ३० रनले पराजित गरेको थियो ।

विजेताको जोसमा रहेको वेष्ट इण्डिज अब सुपर-८ चरणमा आफ्नो स्थान सुनिश्चित गर्दै आगामी खेलतर्फ ध्यान केन्द्रित गर्दैछ । नेपालका खेलाडीहरूले भने यस प्रदर्शनबाट सिक्दै आगामी प्रतियोगिताका लागि तयारी गर्नुपर्ने अवस्था आएको छ ।

विश्वकपमा १२ वर्षपछि नेपाली ब्याटरको अर्धशतक

आइसिसी टी-२० विश्वकपमा १२ वर्षपछि नेपाली टिमका ब्याटरले अर्धशतक बनाएका छन् । नेपालका अलराउण्डर दीपेन्द्र सिंह ऐरीले आइसिसी टी-२० विश्वकप २०२६ मा वेष्ट इण्डिजविरुद्ध अर्धशतक प्रहार गर्नुभएको हो । यसअघि नेपाली टिमबाट सन् २०१४ को संस्करणमा सुवास खकुरेलले अर्धशतक बनाउनुभएको थियो ।

आइतबार भारतको मुम्बईस्थित वानखेडे क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको नेपालका अलराउण्डर ऐरीले वेष्ट इण्डिजविरुद्ध १८.४ ओभरमा ५० रन पूरा गर्नुभएको थियो । ५० रन पूरा गर्नेक्रममा ऐरीले ४४ बलमा तीन चौका र दुई छक्का प्रहार गर्नुभएको थियो ।