अवैधानिक कामदार राखेको अभियोगमा रोजगारदाता कम्पनीलाई आरएम १ लाख २२ हजार जरिवाना।

सेरेम्बान(मलेसिया):= मलेसियाली अध्यागमन विभाग नेगेरी सेम्बिलानले गत वर्ष सन् २०२५ मा अवैध विदेशी कामदारलाई रोजगारी दिएको तथा आश्रय दिएको अभियोगमा ९३ जनालाई नियन्त्रणमा लिएको जनाएको छ। तीमध्ये २० जनाविरुद्ध अदालतमा मुद्दा दर्ता भइसकेको छ।

नेगेरी सेम्बिलान राज्य इमिग्रेशन विभागका निर्देशक केनिथ टान आइ कियाङका अनुसार एक रोजगारदातालाई अध्यागमन कानुन उल्लंघन गरेको ठहर गर्दै आरएम १ लाख २२ हजार रिंगेट जरिवाना गरिएको छ।

यसैगरी, समान कसुरमा संलग्न ९८ जनालाई कडा चेतावनी दिइएको उनले पत्रकार सम्मेलनमार्फत जानकारी दिए। उनले सर्वसाधारणलाई अवैध आप्रवासीलाई काममा नराख्न वा आश्रय नदिन आग्रह गरेका छन्।

कुन कानुन अन्तर्गत कारबाही?

अभियुक्तहरूलाई
• Immigration Act 1959/63 को धारा ५५B (वैध अनुमति बिना विदेशीलाई रोजगारी दिनु)
• सोही ऐनको धारा ५५E (अवैध विदेशीलाई आफ्नो परिसरमा बस्न दिनु)
अन्तर्गत आरोप लगाइएको छ।

७६३ अपरेसन, २,०७८ जना पक्राउ

सन् २०२५ मा राज्यभर ७६३ वटा अपरेसन सञ्चालन गरिएको थियो। ती अपरेसनमा २३,२८६ जना विदेशी नागरिकमाथि जाँच गर्दा २,०७८ जनालाई ओभरस्टे वा वैध यात्रा कागजात नभएको कारण पक्राउ गरिएको विभागले जनाएको छ।

स्वदेश फिर्ता कार्यक्रमपछि कडा अपरेसन

निर्देशक टानले आगामी अप्रिलमा ‘माइग्रेन्ट रिप्याट्रिएसन प्रोग्राम’ समाप्त भएपछि ठूलो स्तरको अपरेसन सञ्चालन गरिने चेतावनी दिएका छन्। हाल सञ्चालनमा रहेको एम्नेस्टी कार्यक्रम अन्तर्गत अवैध आप्रवासीले तोकिएको जरिवाना तिरेर स्वेच्छाले स्वदेश फर्किन सक्नेछन् र उनीहरूविरुद्ध मुद्दा चलाइने छैन।

जरिवानाको विवरण
• वैध पास बिना प्रवेश वा बसोबास / ओभरस्टे: आरएम ५०० जरिवाना
• पासको सर्त उल्लंघन: आरएम ३०० जरिवाना
• स्पेशल पास आवेदन शुल्क: आरएम २०

इमिग्रेशन विभागले रोजगारदाताहरूलाई कानुनको पूर्ण पालना गर्न आग्रह गर्दै उल्लंघन भएमा कडा कारबाही गरिने चेतावनी दिएको छ।