‘मेगा अप्स’अपरेसनका क्रममा ७३ जना पक्राउ, पाकिस्तानी नागरिकद्वारा रिहाइको गुहार।

रावाङ (मलेसिया):= मलेसियाली अध्यागमन विभाग “इमिग्रेशन” को सेलाङोर राज्य कार्यालयले सञ्चालन गरेको ‘मेगा अप्स’ नामक अपरेसन, छापामारीका क्रममा रावाङको श्री सेमाराक अपार्टमेन्ट, बुकित बेरुंतुङ क्षेत्रमा एक पाकिस्तानी नागरिकले आफ्ना रिहाइको लागि भावुक अपिल गरेका छन्।

इमिग्रेशन विभागका अनुसार अपरेसनका क्रममा कुल १८८ जना विदेशी नागरिकमाथि जाँच गरिएको थियो। जसमध्ये ७३ जना विदेशी नागरिकलाई नियन्त्रणमा लिइएको छ। पक्राउ परेका ५ देशका नागरिकहरूमा पाकिस्तान, म्यानमार, बंगलादेश, नेपाल र भारतका नागरिक रहेका छन्। उनीहरूको उमेर १ वर्षदेखि ५५ वर्षसम्म रहेको बताइएको छ।

पक्राउ परेकाहरूको साथमा पहिचानपत्र नभएको र ओभरस्टे मुख्य कसुर रहेको बुझिएको छ। प्राय सबैको साथमा वैध परिचयपत्र नभएको, भिसा अवधि सकिएपछि बसोबास (ओभरस्टे), मान्यता प्राप्त नभएको कार्ड प्रयोग जस्ता कसुरहरू फेला परेको जनाइएको छ।

सेलाङोर राज्यका इमिग्रेशन निर्देशक खैरुल अमिनुस बिन कामारुद्दिनले यस्ता कारबाही समय–समयमा निरन्तर सञ्चालन गरिने बताएका छन्। उक्त अपरेसनमा
रेडमन बिन सफार (उप–निर्देशक, व्यवस्थापन)
मोहम्मद खुसेरी बिन कामारुद्दिन (उप–निर्देशक, नियन्त्रण)
पनि सहभागी थिए।

यस अपरेसनमा राज्य दर्ता विभाग (JPN), राष्ट्रिय लागूऔषध नियन्त्रण एजेन्सी (AADK) तथा हुलु सेलाङोर नगरपालिका परिषद्का अधिकारीहरूको समेत सहयोग रहेको थियो। नियन्त्रणमा लिइएका सबैलाई सेमेन्हिय इमिग्रेशन डिपोमा पठाएर थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइने इमिग्रेशन विभागले जनाएको छ।