घरेलु बक्स अफिसमा १४ करोड कमाइ गरेको फिल्म परान अब मलेसियामा प्रदर्शन हुँदै।

काठमाडौं:= नेपाली फिल्म उद्योगमा कमाइ र चर्चाको नयाँ कीर्तिमान स्थापन गरेपछि नीर शाह अभिनीत फिल्म परान अब मलेसियामा प्रदर्शन हुने भएको छ। फिल्म निर्माण पक्षका अनुसार, फेब्रुअरी १४, २०२६ (शनिवार) देखि मलेसियाका प्रमुख शहरका हलहरूमा यो चलचित्र रिलिज हुनेछ।

मलेसियामा फिल्मको प्रदर्शन अधिकार गैरआवासीय नेपाली संघ (एनआरएनए) एशिया–प्यासिफिक संयोजक हरि भट्टराई ले खरिद गरेका छन्। उनले बताएका छन् कि मलेसियामा करिब पाँच लाख नेपाली कार्यरत छन् र उनीहरूको सुविधा तथा समयतालिका अनुसार शोहरू तय गरिएको छ।

भट्टराईले थपे, “मलेसियामा चाइनिज नयाँ वर्षको एक हप्ता लामो बिदा हुने भएकाले, अन्य दिनमा काममा व्यस्त हुने नेपालीहरूले बिदा मनाउन र मनोरञ्जन लिन यस फिल्म उपयुक्त माध्यम बन्न सक्छ। साथै, भ्यालेन्टाइन डे नजिकिएको कारण रिलिज मितिलाई सोहीअनुसार मिलाइएको छ।”

दीपक आचार्य (काकु) निर्देशित परान नेपालमा बलियो वर्ड–अफ–माउथका कारण अत्यधिक चर्चा कमाएको फिल्म हो। यसले वर्ष २०८२को हालसम्मकै सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको उपाधि पनि प्राप्त गरेको छ।

फिल्मका निर्माता हुन् शेखर गोल्छा र रञ्जित आचार्य, र मुख्य कलाकारको रूपमा अभिनय गरेका छन् नीर शाह, मदनकृष्ण श्रेष्ठ, महेश त्रिपाठी, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, प्रवीण खतिवडा लगायत।