मलेसियामा आठौँ हिमालयन गोल्डकप: १६ टिम सहभागी, टाइसिट सार्वजनिक।

क्वालालम्पुर (मलेसिया):= मलेसियामा बसोबास गर्ने नेपाली समुदायका लागि सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिता हिमालयन गोल्डकपको आठौँ संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ।

आयोजक क्लब हिमालय एफसीद्वारा आईतवार क्वालालम्पुरमा आयोजित एक पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिँदै खेलतालिका (टाइसिट) सार्वजनिक गरेको हो।

कार्यक्रममा मलेसियामा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधि, खेलप्रेमी तथा प्रतियोगितामा सहभागी १६ टिमका प्रतिनिधिहरूको उपस्थितिमा गोला प्रथामार्फत टाइसिट तय गरिएको थियो।

उक्त अवसरमा नेपाली फुटबल एसोसिएसन मलेसियाका अध्यक्ष हेमप्रसाद भट्टले सहभागी १६ टिमका खेलाडीहरूलाई परिचयपत्र तथा एक–एक थान फुटबल वितरण गर्नुभयो। उहाँले परिचयपत्र प्राप्त खेलाडीहरूले प्रतियोगिताको क्रममा हुन सक्ने दुर्घटनाका लागि नेपाली रुपैयाँ पाँच लाख बराबरको बीमा सुविधा पाउने जानकारी दिनुभयो।

आयोजकका अनुसार प्रतियोगितालाई व्यवस्थित, अनुशासित र प्रतिस्पर्धात्मक बनाउने उद्देश्यले रेफ्री व्यवस्थापन, खेलमैदानको तयारी, स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्डलाई विशेष प्राथमिकतामा राखिएको छ। प्रतियोगिताका सबै खेलहरू निर्धारित खेलतालिकाअनुसार सञ्चालन गरिने आयोजकले जनाएको छ।

प्रतियोगिताको उपाधि विजेताले मलेसियन रिंगेट ४१ हजार ५ सय पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले २१ हजार रिंगेट हात पार्नेछ। त्यसैगरी प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने सर्वोत्कृष्ट खेलाडीलाई १ हजार रिंगेट प्रदान गरिनेछ।

साथै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही ५ सय रिंगेट पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

आयोजकले हिमालयन गोल्डकपले मलेसियामा रहेका नेपाली युवाहरूबीच खेलकुदमार्फत एकता, सद्भाव र आपसी सम्बन्ध मजबुत बनाउने विश्वास व्यक्त गरेको छ। साथै प्रतियोगितालाई सफल बनाउन सम्पूर्ण खेलप्रेमी, संघ–संस्था तथा नेपाली समुदायलाई सक्रिय सहभागिताका लागि आग्रह गरिएको छ।