काठमाडौं := हार्नु पीडादायी हुन्छ तर, कहिलेकाहीँ त्यही हार भविष्यमा ठूलो जितको आधार बन्छ । आइसिसी टी-२० विश्वकप क्रिकेटमा इंग्ल्याण्डविरुद्धको झिनो हारले त्यही संकेत गरेको छ । दुई पटकको विश्वकप विजेता इंग्ल्याण्डविरुद्ध सनसनीपूर्ण प्रदर्शन गरेको नेपाल जितबाट मात्रै चार रन दूर रह्यो ।
भारतको मुम्बईस्थित वनखेडे स्टेडियममा आइतबार साँझ इंग्लयाण्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रनमै रोकियो । खेलमा चार रनले पराजित भए पनि नेपालको साहसिक प्रदर्शनले फेरि एकपटक विश्वको ध्यान तानेको छ । अन्तिम ओभरमा नेपाललाई जितका लागि १० रन मात्रै चाहिएको थियो ।
क्रिजमा सेट ब्याटर लोकेश बम हुनुहुन्थ्यो । तर, अनुभवले फेरि खेल जित्यो । अन्तिम ओभरमा नेपालले पाँच रन मात्रै जोड्न सक्यो । २० बलमा ३९ रनको आक्रामक इनिङ्स खेल्दै लोकेशले चार चौका र चार छक्का प्रहार गर्नुभयो । १८औँ ओभरमा लोकेशले तीन छक्का हानेपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो । तर, अन्तिम ओभरमा बललाई बाउन्ड्री पार गराउन नसक्दा नतिजा नेपालको पक्षमा आएन ।
१८५ रनको लक्ष्य सानो थिएन, तर असम्भव पनि थिएन । ओपनर कुशल भुर्तेलले आक्रामक सुरुआत गर्दै १७ बलमा २९ रन बनाउनुभयो । जोफ्रा आर्चरको ओभरमा तीन चौका प्रहार गर्दा नेपाली समर्थक झुमेका थिए । तर, चौथो ओभरमा आसिफ (७) र छैटौँ ओभरमा कुशल आउट भएपछि नेपाल ४२-२ मा पुगेको थियो । तर, त्यहीँबाट सुरु भयो नेपालको सबैभन्दा महत्वपूर्ण साझेदारी ।
कप्तान रोहितकुमार पौडेल र उपकप्तान दीपेन्द्र सिंह ऐरीले तेस्रो विकेटका लागि ८२ रनको साझेदारी गर्दै खेललाई इंग्लयाण्डबाट टाढा पुर्याउनुभएको थियो । दीपेन्द्र ४४ रनमा र रोहित ३९ रनमा आउट भएपछि दुई ओभरभित्र खेलले नाटकीय मोड लियो । जिततर्फ उन्मुख देखिएको नेपाल फेरि दबाबमा पर्यो । जब खेल हातबाट फुत्किने संकेत देखियो, लोकेशले आशा फर्काउनुभयो । तर, त्यो आशा अन्तिममा भने निराशामा परिणत भयो ।
इंग्ल्याण्डका लियम ड्वसनले दुई विकेट लिनुभयो । चार ओभरमा उहाँले २१ रन खर्चिनुभयो । जोफ्रा आर्चर, लुक वुड, विल ज्याक र साम करनले समान एक-एक विकेट लिनुभयो । वनखेडे स्डेडियममा नेपाली समर्थकले बनाएको वातावरण विशेष थियो । दर्शकदीर्घा घरेलु मैदानझैँ देखिन्थ्यो । अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा नेपाल र इंग्ल्याण्डबीचको यो पहिलो खेल थियो । अघिल्लो विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको थियो ।
टस हारेर पहिले बलिङ गरेको नेपालले सुरुमै इंग्ल्याण्डलाई झस्काएको थियो । डेब्यु खेलमै युवा स्पिनर शेर मल्लले आफ्नो करिअरको पहिलो बलमै फिल साल्टलाई आउट गर्दै नेपाललाई शानदार सुरुवात दिलाउनुभएको थियो । पावरप्लेमै इंग्ल्याण्ड ५७-३ को दबाबमा पुग्दा नेपाली बलिङ आक्रामक भएको थियो । नन्दन यादवले जस बटलरलाई २६ रनमा रोक्दा सन्दीप लामिछानेले टम बान्टनलाई एलबीडब्लु धरापमा पार्नुभयो ।
तर, इंग्ल्याण्डका ज्याकब बेथेल र कप्तान ह्यारी ब्रुकले चौथो विकेटका लागि ७१ रनको साझेदारी गर्दै इंग्ल्याण्डलाई पुनर्जीवित गर्नुभयो । बेथेलको ५५ र ब्रुकको ५३ रनले इंग्ल्याण्डलाई पुनः लयमा फर्कायो । अन्त्यतिर विल ज्याक्सले विस्फोटक ३९ रन थपेपछि इंग्ल्याण्ड १८४/७ को प्रतिस्पर्धात्मक योगफलमा पुगेको थियो । दीपेन्द्र र नन्दनले दुई-दुई विकेट लिँदा, सन्दीप र शेरले एक-एक विकेट झार्नुभयो ।
समूह ‘सी’ मा रहेको नेपालको यात्रा अझै बाँकी छ । अब नेपालले दोस्रो खेल इटालीसँग माघ २९ गते खेल्नेछ । यस्तै, तेस्रो वेस्ट इण्डिजसँग फागुन ३ र अन्तिम खेल फागुन ५ मा स्कटल्याण्डससँग खेल्नेछ । तीनै खेल मुम्बईमा नै हुनेछन् । इटाली, वेस्ट इण्डिज र स्कटल्याण्डविरुद्धका खेलहरू केवल तालिकाका खेल होइन, इंग्ल्याण्डविरुद्ध देखिएको सम्भावनालाई नतिजामा बदल्ने अवसर हुन् ।
कप्तानीमा पौडेलको कीर्तिमान, ऐरीको दुई हजार रन
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल राष्ट्रिय टिममा सबैभन्दा बढी टी-२० अन्तर्राष्ट्रिय विश्वकप खेल्ने कप्तान बन्नुभएको छ । आइतबार टी-२० विश्वकपअन्तर्गत इंग्ल्याण्डविरुद्धको खेलमा नेपालको कप्तानी सम्हाल्दै रोहितले सबैभन्दा बढी कप्तानी गर्ने कीर्तिमान आफ्नो नाममा बनाउनुभयो । यसअघि यो रेकर्ड नेपालका पूर्वकप्तान पारस खड्काको नाममा थियो । रोहितले कप्तानका रूपमा विश्वकपमा पाँच खेल खेल्नुभएको छ ।
यसैगरी, नेपाली राष्ट्रिय टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरी टी-२० अन्तर्राष्ट्रियमा २ हजार रन पूरा गर्नुभएको छ । टी-२० विश्वकपमा इंग्ल्याण्डविरुद्ध ४४ रन बनाउँदै उहाँले टी-२० अन्तर्राष्ट्रियमा २ हजार रन पूरा गर्नुभएको हो । टी-२० अन्तर्राष्ट्रियमा २ हजार रन पूरा गर्ने उहाँ पहिलो नेपाली ब्याटर हो । दीपेन्द्रले ७९ पारीमा २ हजार रन पूरा गर्नुभयो । त्यसक्रममा उहाँले १० अर्धशतक र एक शतकीय पारी खल्नुभएको छ ।
हारबाट निराश छु, तर टिमप्रति गर्व छ : रोहित पौडेल
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले इंग्लयाण्डसँगको साँघुरो हारबाट आफू निराश रहे पनि टिमको प्रदर्शनप्रति गौरवान्वित रहेको प्रतिक्रिया दिनुभएको छ । चार रनको झिनो हारपछि नेपाली टिमका कप्तान रोहितले इंग्ल्याण्डविरुद्धको प्रयास धेरै प्रशंसनीय रहेको बताउनुभयो । झिनो हार व्यहोरे पनि टिमप्रति गर्व रहेको उहाँको भनाइ थियो।
‘निराशा छु । तर, मलाई टोलीप्रति धेरै गर्व छ । इंग्ल्याण्डविरुद्धको प्रयास धेरै प्रशंसनीय छ, टिमका सबैले आफ्नो शतप्रतिशत दिए’, रोहितले भन्नुभयो, ‘हामी यहाँ केवल सहभागिता जनाउन मात्र आएका होइनौँ भन्ने विश्वास थियो । यदि, हामीले हाम्रो आफ्नै शैलीको क्रिकेट खेल्यौँ भने, हामी जुनसुकै टोलीलाई पनि हराउन सक्छौँ ।’




















